काठमाडौं, कात्तिक १६ । नेकपा एमालेले पार्टीको एघारौँ महाधिवेशन आयोजना र प्रतिनिधित्व सम्बन्धी निर्णय गरेको छ ।
हिजोको सचिवालय बैठकले आयोजक प्रतिनिधिका लागि ३ हजार र निर्वाचित प्रतिनिधिका लागि २ हजार सहभागी शुल्क तोक्ने निर्णय गरेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

पार्टीको ११ औँ महाधिवेशन काठमाडौंमा जनसभाका साथ मंसिर २७-२९ मा आयोजना गर्ने हुने भएको छ । महाधिवेशनमा करिब २ हजार १ सय प्रतिनिधिहरूको सहभागिता रहने पोखरेलले जानकारी दिनुभयो ।
महाधिवेशनको लागि देशभरका सबै स्थानमा मंसिर १३ गते प्रतिनिधि चयन हुने भएको छ । प्रतिनिधिको नाम पठाउने अन्तिम मिति मंसिर १५ गतेभित्र तोकिएको छ ।प्रतिनिधि चयनको अनुपात १ हजार २ पार्टी सदस्यबाट ४ जना प्रतिनिधि चयन गरिनेछ । जसमा १ जना महिला, १ जना ४० वर्षमुनिको युवा र २ जना खुला प्रतिनिधि रहनेछन्।
प्रत्येक थप ८ सय सदस्यमा १ जना प्रतिनिधि थपिनेछ। जसमा पहिलो प्रतिनिधि महिला हुने र चौथोमा पुनः महिला समावेश गरिनेछ।एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई प्रतिनिधि चयनको इकाई मानिनेछ।
एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला वा गैरभौगोलिक जिल्लाहरूमा जिल्ला नै निर्वाचन इकाई हुने व्यवस्था गरिएको छ।
यसै गरी दलित समुदायको निर्वाचन इकाई विशेष निर्वाचन इकाई तोकी एक जिल्लामा एउटा इकाई बनाइने भएको छ । दलित तर्फ प्रत्येक ५ सयमा एक जना प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।
ट्रेड युनियनको हकमा भूगोलको प्रदेशबाट २ महिला सहित ७ जना, केन्द्रीय सल्लाहकार परिषद्बाट २५ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ ।
प्रत्येक प्रदेश कमिटीबाट २ महिला सहित ५ जना, पार्टी–सम्बद्ध जनसंगठनहरूबाट पनि २ महिला सहित र महासंघीय ढाँचाका जनसंगठनहरूबाट २ महिला सहित ७ जना प्रतिनिधि चुनिने छन् ।
प्रवासको हकमा भारत प्रवास र महादेश कमिटीबाट २ महिला सहित ५ जना प्रतिनिधि आउने छन् ।
विभाग र केन्द्रीय कार्यालयबाट एक–एक जना,केन्द्रीय कमिटीबाट मनोनीत प्रतिनिधिको सङ्ख्या कुल प्रतिनिधिको ५ प्रतिशत रहनेछ भने केन्द्रीय कमिटी र केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरू आयोजक प्रतिनिधि हुने छन् ।