संसद पुनःस्थापना गर्नुपर्ने माग सहित नागरिक समाज कास्कीले ज्ञापनपत्र बुझायाे

पोखरा, २० कात्तिक ।नागरिक समाज कास्कीले मुलुकको वर्तमान संवैधानिक गतिरोध एवं राजनीतिक संकट समाधानका लागि समन्वयवादी मार्ग उपाय खोजिनुपर्नेमा जोड दिएको छ । त्यसका लागि सबै राजनीतिक दल र जेनजीसहित स्वाभिमानी नागरिक समाजका देशभक्त अगुवाहरु सम्मिलित सर्वपक्षीय राजनीतिक सम्मेलन आह्वान गरी असंवैधानिक मार्गलाई सच्याएर संवैधानिक रुप दिन सकिने जनाएको छ ।

सोही व्यहोरा उल्लेखित सातबुँदे मागसहितको ज्ञापनपत्र बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत राष्ट्रपति समक्ष बुझाइएको छ ।

 

नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेल नेतृत्वमा जिल्ला प्रशासन गएको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।

 

ज्ञापनपत्रमा वर्तमान सरकारले जे–जस्ता कार्यक्रमहरु सार्वजनिक गर्दछ, त्यसलाई निःशर्त स्वीकारेर जाने समर्पणवादी यात्रा वा अहिलेको सरकारालई सडकबाटै हटाउने प्रतिरोध एवं प्रतिशोधात्मक कदम सबै पीडादायी हुने उल्लेख गर्दै अहिलेको सहज निकास र व्यवस्थापन मध्यममार्गी उपाय समन्यवादी मार्ग नै भएको ठहर गरिएको छ ।

 

यसैगरी, निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको प्रतिनिधि सभा सदस्यको निर्वाचन हुनेसमेतको तत्काल आवश्यकता विषयमा संविधान संशोधन गरी जेनजीसमेतको प्रभावकारी उपस्थिति सुनिश्चितका लागि सशर्त संसद पुनःस्थापा गर्नुपर्ने माग गरिएको छ । त्यसपछि जेनजीको उल्लेख्य उपस्थितिमा प्रतिनिधि सभाको कुनै सदस्यको अध्यक्षतामा अन्तरिम सरकार गठन र सर्वपक्षीय सम्मेलनको लिखित सहमतिमा तोकिने अवधिभित्रै संविधान संशोधन कार्य सम्पन्नपछि संसद विघटन गरी संवैधानिक सरकारबाटै आमनिर्वाचन गराउनु उत्तम विकल्प हुने उल्लेख गरिएको छ ।

 

‘संवैधानिक सरकारको व्यवस्थापनमा जनता जनार्दनको विवेकमा भर पर्ने लोकतान्त्रिक पद्दतिको आमनिर्वाचनमा हुने शान्तिपूर्ण मतदानको परिणामबमोजिमको सरकार नै वैधानिक, भरपर्दो र जनउत्तरदायी हुनेमा हामी विश्वस्त छौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यही नै समकालीन मुलुकी द्वन्द्व, अस्थिरता र सबैखाले अविश्वासको व्यवस्थापनको उपयुक्त बाटो हो ।’

 

ज्ञापनपत्र बुझ्दै प्रजिअ शर्माले नागरिक समाज मुलुक र नागरिकको हितमा निःस्वार्थ काम गर्दै आएको उल्लेख गर्दै पत्र राष्ट्रपतिको कार्यालयमा पठाउने बताइन् ।

 

सो अवसरमा नागरिक समाजका सहसंयोजक दुर्गाकुमारी शर्मा, प्रवक्ता गोकुलबहादुर कार्की, पूर्व संयोजक विष्णुहरि अधिकारी, संस्थापक सदस्य शशि तुलाचनसमेतको उपस्थिति थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...