काठमाडौं, कात्तिक २४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रलाई सङ्कटबाट बाहिर निकाल्नको लागि नेकपा एमालेले सशक्त भूमिका खेल्दै आएको बताउनुभएको छ ।

आज राष्ट्रिय सभा गृहमा आयोजित पार्टीको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा देश अप्ठेरोमा पर्दा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले सही बाटोमा ल्याउने काम गर्नुभएको दाबी गर्नुभयो ।
नेपाली समाजलाई विखण्डनबाट जोगाउने होस् वा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान स्थापित गर्ने कुरामा एमालेले सधैँ अगुवाइ गरेको उहाँले बताउनुभयो ।
नेपालको राजनीतिक इतिहासमा देशको विकासमा सबैभन्दा प्रभावकारी काम गर्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार भएको पोखरेलले बताउनुभयो ।
एमालेका अध्यक्ष मनमोहन अधिकारीले सुरु गर्नुभएको सामाजिक सुरक्षा कार्यक्रमलाई केपी ओली नेतृत्वको एमाले सरकारले विकास र विस्तार गरेको उहाँले स्मरण गराउनुभयो ।यो सच्चाइलाई बुझेर पार्टी छाडेर गएका नेताहरू एमाले फर्कनु भएको पोखरेलले बताउनुभयो । यो क्रम आजबाट सुर भएको बताउँदै उहाँले यो निरन्तर रहने स्पष्ट पार्नुभयो ।
भदौ २३ र २४ को घटनाको सन्दर्भमा पोखरेलले नेपाली नवयुवालाई ढाल बनाएर विध्वंसात्मक कार्य गरिएको बताउनुभयो । ‘२३ गते स्कुले बालबालिकालाई ढाल बनाएर मुलुकलाई कमजोर बनाउन जुन षडयन्त्र भयो, त्यो षडयन्त्र बाहिर ल्याउन जरुरी छ, विद्यालय गएका विद्यार्थीलाई स्कुल ड्रेसमा आन्दोलनमा ल्याउनु के षडयन्त्र होइन ?’, उहाँले भन्नुभयो ।
भदौ २३ र २४ गते भएको षडयन्त्रका योजनाकार र मतियारको पहिचान गर्न जरुरी रहेका उहाँले बताउनुभयो । ‘आज सामाजिक सञ्जाल मार्फत एक पछि अर्का दृश्य आउँदो षडयन्त्र कति गहिरो रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ’, उहाँले भन्नुभयो ।
अहिलेको अन्तरिम सरकार नियोजित रूपमा राजनीतिक दललाई कमजोर बनाउने षडयन्त्रका साथ अघि बढिरहेको उहाँले बताउनुभयो । राजनीतिक कहिल्यै पनि प्रतिशोधामत्मक नहुने बताउँदै उहाँले अहिलेको सरकार प्रतिशोधको भाव सहित अघि बढेको पोखरेलको भनाइ छ । ‘यसले समाजलाई सही दिशा प्रदान गर्न सक्दैन भन्ने कुरा देखिएको छ, त्यसैले २३ र २४ गतेको घटनाले मुलुकलाई दशकौँ पछाडि धकेलेको छ, त्यसैले विघटित भएको प्रतिनिधि सभालाई पुनर्स्थापित गर्नुपर्छ भन्ने मान्यता हामीले राखेका छौँ’, उहाँले भन्नुभयो ।
पोखरलेले चुनाव हुने वातावरण छैन तर यसलाई अस्वीकार गर्न सकिँदैन भनेर अन्य दलहरूले आन्तरिक छलफलमा भन्ने गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । राजनीतिक दलले यो कुरा खुलेर गर्नुपर्ने उहाँको धारणा छ ।
अन्य राजनीतिक दल डरकै कारण बोल्न नसकेका बताउँदै पोखरेलले यस्तो बेला बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभयो । त्यो राष्ट्रिय शक्ति नेकपा एमालेलाई बनाउन सबै वामपन्थी र राष्ट्रवादी व्यक्ति र शक्ति एमालेमा एकत्रित हुन जरुरी रहेको पोखरेलको भनाइ छ ।