गण्डकीमा ५२ जना नयाँ एचआईभी संक्रमित थपिए, कास्कीमा १५ जना

एकराज गिरी, पाेखरा । आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म गण्डकी प्रदेश तथा कास्की जिल्लामा एचआईभी संक्रमणका नयाँ तथ्यांक सार्वजनिक गरिएको छ।

विश्व एड्स दिवसमा नेपाल पत्रकार महासंघ कास्कीमा पत्रकार र स्वास्थ्यकर्मीहरूबीच अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएकाे हाे ।अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ आज दिवस मनाइएको छ ।प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका एचआइभी फोकल पर्सन बसौलाका अनुसार गण्डकी प्रदेशमा ५२ जना नयाँ एचआईभी संक्रमित थपिएका छन्। सोही अवधिमा १० जनाको मृत्यु भएको छ भने ५१ जना एआरटि सेवा लिइरहेका छन्।

यस्तै, कास्की जिल्लामा मात्र १५ जना नयाँ संक्रमित थपिएका छन्। जिल्लामा ६ जनाको मृत्यु भएको र ५० जना एआरटी सेवा लिइरहेकाे प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका एचआइभी फोकल पर्सन बसौलाले‌ जानकारी दिए ।स्वास्थ्य क्षेत्रमा एचआईभी रोकथाम तथा उपचार सेवालाई विस्तार र प्रभावकारी बनाउन निरन्तर कार्यक्रम सञ्चालन भइरहेका भए पनि संक्रमणको संख्या उकालो लाग्दै जानु चुनौतीपूर्ण रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। विशेषगरी जोखिम समूहमा सचेतना, परीक्षण पहुँच र उपचारमा निरन्तरता आवश्यक रहेको प्रतिवेदनले संकेत गर्छ।

 

यो तथ्यांकले प्रदेश र स्थानीय तहमा एचआईभी तथा यौनजन्य रोग रोकथाम कार्यक्रमलाई अझ सशक्त बनाउन आवश्यकता रहेको सम्बन्धित निकायले जनाएको ।पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन डा. सरदचन्द्र बरालले एउटा तीतो यथार्थ सुनाए । उनका अनुसार अन्य जटिल रोगहरूको तुलनामा एचआइभीको उपचार निकै सस्तो र सर्वसुलभ छ । तर, विडम्बना के छ भने समाजले लगाउने लाञ्छना र भेदभावका कारण संक्रमितहरू घर नजिकैको स्वास्थ्य संस्थामा जान डराउँछन् र टाढा–टाढा पुगेर सेवा लिन बाध्य हुन्छन् ।

 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. प्रेमराज पंगेनीले समुदायमा सही सूचना पुर्‍याउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । सञ्चारमाध्यमले यथार्थ कुरा बाहिर ल्याउँदा मानिसहरूको भ्रम चिर्न सजिलो हुने उनको बुझाइ थियो ।नेपाल पत्रकार महासंघ कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वास्थ्य केन्द्रले संयुक्त रूपमा आयोजना गरेको यो कार्यक्रममा महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, सल्लाहकार दीपेन्द्र श्रेष्ठ, एड्स रोग संघका केन्द्रीय सचिव मनोज गुरुङ लगायतले आफ्ना धारणा राखेका थिए ।महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्या कोइरालाले स्वागत र सचिव भूपाल गुरुङले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...