वरिष्ठ उपाध्यक्ष पोखरेल लगायतका केही मानिसहरूले आफू विरुद्ध वैरभाव राखे : अध्यक्ष ओली

काठमाडौं, मंसिर २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका केही मानिसहरू आफू विरुद्ध वैरभाव राखेर लाग्नु भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ईश्वर पोखरेल लगायतका केही मानिसहरू आफ्नो विरुद्ध सुशीला कार्कीसँग मिलेर लाग्नु भएको बताउनुभयो । ‘उहाँलाई के भएको छ कुन्नि, उहाँ त्यसरी नलागेको भए हुन्थ्यो’, उहाँले भन्नुभयो ।

 

सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको बताउँदै ओलीले सरकारका कुनै पनि गतिविधि आफूलाई मान्य नहुने स्पष्ट पार्नुभयो । सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन जाने नजाने आफ्नो कुरा भएको बताउँदै उहाँले यसमा अर्ति नदिन पनि उहाँले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आग्रह गर्नुभयो ।

 

समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र नरोकिने बताउँदै ओलीले यो कुरा ख्याल गर्न कार्कीलाई चेतावनी दिनुभयो । ‘ध्यान राखेर, होस् सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो ।

 

भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको उहाँले स्पष्ट पार्नुभयो । आफू देश छाडेर कतै नगएको र नजाने उहाँले बताउनुभयो । ‘उनीहरूको ज्यान बचाउनको लागि मैले मुकाम परिवर्तन गरेँ’, उहाँले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...