सामाजिक रुपान्तरणका लागि नागरिक जागरण अभियान विषयक अन्तरसंवाद सम्पन्न

पोखरा — वर्तमान राजनीतिक तथा सामाजिक सन्दर्भमा सामाजिक रुपान्तरणका लागि नागरिक जागरण अभियान आवश्यक रहेको निष्कर्षसहित अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले सामाजिक रुपान्तरण नै समग्र परिवर्तनको जड भएको उल्लेख गर्दै युवापुस्ताले नै परिवर्तनको नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा प्रमुख वक्ता आनन्दराज मुल्मीले सामाजिक रुपान्तरण बिना समृद्धि सम्भव नहुने बताउँदै भने, “रुपान्तरणको जड सामाजिक रुपान्तरण हो, युवापुस्ताले नै परिवर्तनको आन्दोलन अगाडि बढाउनुपर्छ।” उनले नागरिक समाज विभक्त हुँदै गएको र स्वार्थको द्वन्द्वबाट माथि उठ्न नसक्दा समस्या जटिल बन्दै गएको धारणा राखे।

 

मुल्मीले संविधान र लोकतान्त्रिक अभ्यास ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य रहेको उल्लेख गर्दै भने, “निर्वाचन भए संविधान ट्रयाकमा आउँछ, नभए देश कुन दिशातर्फ जान्छ भन्ने चिन्ताको विषय बनेको छ।” उनले सेना सक्रिय हुन खोजेको संकेत देखिनु गम्भीर विषय भएको बताउँदै समयमै निर्वाचन गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, जेन–जी आन्दोलनले शासकीय संरचनाबारे पुनर्विचार गर्न बाध्य बनाएको उनको भनाइ थियो।

 

अन्तरसंवादमा नेपाली काँग्रेस कास्कीका प्रवक्ता नविन सिग्देल, नेकपा एमाले सचिवालय सदस्य झपट रानाभाट, नेपाली कम्युनिष्ट पार्टीका नेता विश्वप्रकाश लामिछानेले जेन–जी आन्दोलनले राजनीतिक दलहरूलाई आत्मसमीक्षा र सुधारतर्फ उन्मुख गराएको बताए। उनीहरूले नागरिक समाज स्वयं पनि विवादित बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका अध्यक्ष यदु अधिकारी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष शंकर बराल र रामप्रसाद सुवेदीले जेन–जी आन्दोलन व्यवस्था परिवर्तनविरुद्ध नभई प्रणाली सुधारको पक्षमा रहेको स्पष्ट पारे।

 

सृजना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा भएकाे  कार्यक्रममा नेत्रनारायण पौडेल, लेखनाथ भट्टराईलगायतले पनि विचार राखेका थिए। सहभागी वक्ताहरूले लोकतन्त्र सुदृढ गर्न नागरिक जागरण, युवाको सक्रियता र समयमै निर्वाचन अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...