लेखनाथ, ७ पुस ।लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित भएको छ । २०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको यो कार्यक्रम आज व्यापक स्वरूपमा विस्तार हुँदै स्थानीय समृद्धिको आधार बनेको छ ।

हाल लेखनाथमा जारी एक्काइसौँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार व्यवसायलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ । महोत्सवको पाँचौँ दिन सोमबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित कृषि बहस कार्यक्रमले कृषक, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको छ ।
सुन्तलाबाट महोत्सवसम्मको यात्रा सुरुआती दिनमा सुन्तला उत्पादन र बजारीकरणलाई केन्द्रमा राखेर सुरु गरिएको महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवद्र्धनमा केन्द्रित हुँदै आएको छ। महोत्सवले विभिन्न राजनीतिक, सामाजिक र आर्थिक उतार–चढाव पार गर्दै २०८२ सालसम्म आइपुग्दा २१औँ संस्करण सफलतापूर्वक सञ्चालन गरिरहेको छ ।
महोत्सव आयोजक संस्थाका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार हालसम्म लेखनाथ महोत्सवमार्फत करिब डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । साथै, २१औँ संस्करणसम्म आइपुग्दा करिब ४० लाख दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरिसकेका छन्। उनका अनुसार महोत्सवले स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई प्रत्यक्ष लाभ पु¥याएको छ ।
कृषि बहस ः अनुभव, चुनौती र नीति सोमबार आयोजित कृषि बहस कार्यक्रममा विभिन्न कृषि क्षेत्रका प्रतिनिधिहरूले आफ्ना अनुभव र सफलताका कथा प्रस्तुत गरेका थिए ।
माछापालक कृषक यज्ञप्रसाद आचार्यले व्यावसायिक माछापालन सुरु गर्दा भोग्नुपरेका चुनौती, बजार व्यवस्थापन र प्रविधिको महत्वबारे चर्चा गरे।
अलैंची खेती गरिरहेका कृषक सुरेन्द्रजङ्ग क्षत्रीले नगदे बालीका रूपमा अलैंची खेतीले ग्रामीण अर्थतन्त्रमा ल्याएको परिवर्तन र जोखिमबारे अनुभव सुनाए ।
त्यसैगरी, पोल्ट्री व्यवसायी बाबुराम गिर ले व्यवसायिक पोल्ट्री खेतीका उतार–चढाव, रोग व्यवस्थापन र बजार प्रतिस्पर्धाबारे धारणा राखे ।
कार्यक्रममा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले कृषि मन्त्रालयका नीतिगत कार्यक्रम, अनुदान, प्रविधि हस्तान्तरण र कृषक लक्षित सहयोग योजनाबारे जानकारी गराउँदै सरकार र कृषकबीच सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रमको सहजीकरण पत्रकार सुरेन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न कृषक तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
संस्कृति र साहित्यसँग जोडिएको महोत्सव कृषि र व्यापारसँगै लेखनाथ महोत्सव सांस्कृतिक तथा साहित्यिक गतिविधिको केन्द्र पनि बनेको छ । सोमबारका लागि तय गरिएका रत्यौली, विद्यालयस्तरीय सांस्कृतिक प्रस्तुति, नृत्य, लोकदोहोरी, सुगम संगीत तथा गायन कार्यक्रमहरू तालिकाअनुसार सञ्चालन भइरहेका छन् ।
कवि शिरोमणि लेखनाथ पौड्यालको योगदानलाई स्मरण गर्दै आयोजना गरिएको साहित्यिक कार्यक्रममा दर्शक सहभागितामूलक प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको छ । साहित्यिक कार्यक्रमका संयोजक कृष्णप्रसाद ढुङ्गानाका अनुसार कवि लेखनाथ पौड्यालको जीवनी तथा कृतिबाट २१ प्रश्न सोधिने र सही उत्तर दिने प्रत्येक विजेतालाई एक हजार पाँच रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
यस वर्ष कवि शिरोमणि लेखनाथ पौड्यालसम्बन्धी विषयमा विद्यावारिधि गरेका डा. बोधराज ढकाल लाई विशेष अभिनन्दन गर्ने कार्यक्रम पनि महोत्सवको महत्वपूर्ण आकर्षणका रूपमा रहेको छ ।
दर्शक र आर्थिक कारोबारमा वृद्धि भएको प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार सोमबार मात्र २८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । सोही दिन १ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको उनले जानकारी दिए । महोत्सवका आगामी दिनमा दर्शक संख्या र कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ ।
समृद्धिको आधार बन्दै लेखनाथ महोत्सव स्थानीय उत्पादनको बजारीकरण, साना व्यवसाय प्रवद्र्धन, कृषकको हौसला र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको छ। अझै केही दिन सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।