राजनीति राष्ट्रसेवाको सबैभन्दा नजिकको माध्यम:मिलन थापा

पोखरा — सामाजिक अभियन्ता मिलन थापा आजदेखि औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएकी छन्। लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएकी थापाले अब राजनीतिक माध्यमबाट पनि राष्ट्र सेवामा योगदान गर्ने उद्देश्यसहित पार्टी प्रवेश गरेकी बताइन्।


उनले कुनै पनि मानिस राजनीतिबाट अछुतो रहन नसक्ने उल्लेख गर्दै जन्मदेखि मृत्यु पर्यन्त जीवनका हरेक चरणमा राजनीति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएको धारणा व्यक्त गरिन्। राजनीतिलाई पेशा बनाउनु हुँदैन भन्ने मान्यता राख्दै, इमान्दारितापूर्वक गरिने राजनीति राष्ट्रसेवाको सबैभन्दा नजिकको माध्यम भएको उनको भनाइ छ।

झन्डै डेढ दशकदेखि विभिन्न सामाजिक संस्थामा आबद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी थापाले समाज सेवासँगै अब राजनीतिक यात्राबाट पनि देशमा सुशासन र विकासका लागि योगदान दिने लक्ष्य लिएको स्पष्ट पारिन्।

यसअघि करिब एक दशकसम्म नेपाली कांग्रेस पार्टीमा सक्रिय रहेकी उनले उक्त पार्टीले आफूलाई प्रदान गरेको अवसर र भूमिकाप्रति आभार व्यक्त गरिन्। नेपाली कांग्रेसप्रति कुनै गुनासोका कारण पार्टी परिवर्तन गरेको नभई आफ्नै स्वनिर्णय र सहजताका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको उनले स्पष्ट पारिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै साथीहरूको अनुरोध तथा पार्टीको उद्देश्य र घोषणापत्रसँग आफ्नो सोच मेल खाएकाले प्रवेश गरेको जनाउँदै थापाले अब पार्टीप्रति पूर्ण इमान्दारिता र निष्ठाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...