ल्याण्डफिल्डको विषयमा एमाले वडा ३३ को आपत्ति, घटनाको छानबिन र कारबाहीको माग

पोखरा, पुस । पोखरा महानगरपालिका वडा नं. ३३ अन्तर्गत माथिल्लो पेँडीतारास्थित समांत्री खोलामा प्रस्तावित ल्याण्डफिल्ड तथा फोहोर प्रशोधन केन्द्र निर्माणको विषयलाई लिएर स्थानीय जनतामा उत्पन्न असन्तोषप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा कमिटी–३३ ले गम्भीर ध्यानाकर्षण जनाएको छ।


एमाले वडा कमिटीले स्थानीय जनताको पर्याप्त जानकारी, परामर्श र सहमति बिना अघि बढाइएको प्रक्रिया गलत भएको ठहर गरेको छ। वडावासीको स्वास्थ्य, वातावरणीय सुरक्षा, खानेपानीका स्रोत तथा बस्तीको दीर्घकालीन भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले जिम्मेवार जनप्रतिनिधिबाट पारदर्शी व्यवहार र संवाद अपेक्षित रहेको पार्टीको भनाइ छ।

 

यसैबीच, मिति २०८२ पुस २५ गते शुक्रबार प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले विरोध जनाउने क्रममा वडाको धारणा बुझ्न आएका नागरिकमाथि जननिर्वाचित वडा अध्यक्षबाट अराजक, अमानवीय र आपत्तिजनक व्यवहार गरिएको आरोप एमालेले लगाएको छ। विरोधकर्तामाथि फलामे तथा धारिलो हतियार प्रयोग गरी आक्रमण तथा दमन गरिएको घटनाप्रति एमाले वडा कमिटी–३३ ले घोर निन्दा तथा भर्त्सना गरेको छ।

 

पार्टीले असहमति रहेको विषयमा शान्तिपूर्ण विरोध गर्ने अधिकार जनतासँग सुरक्षित रहेको उल्लेख गर्दै, संवाद र वार्ताका माध्यम प्रयोग नगरी देखाइएको यस्तो व्यवहार लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत भएको बताएको छ।

 

घटनापछि स्थानीय जनतामा शान्ति सुरक्षाको त्रास फैलिएको भन्दै एमाले वडा कमिटी–३३ ले प्रशासनसँग शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न तथा घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानून बमोजिम कडा कारबाही गर्न माग गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...