पोखरा ।पोखरा महानगरपालिका–१५ मा आयोजित वडा खेलकुद महोत्सव अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू सम्पन्न भएका छन्। महोत्सव अन्तर्गत विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि एस.ओ.एस. गण्डकी विद्यालयले हात पारेको छ।

बुधबार सम्पन्न विद्यालयस्तरीय फुटबलको फाइनल खेलमा एस.ओ.एस. गण्डकीले ब्यू क्वाइन्ट सेकेन्डरी बोर्डिङ स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
त्यसैगरी टोल तथा क्लबस्तरीय फुटबलतर्फ स्यानी मझुवा टोल विकास संस्था बसुन्धरा मार्ग र दिव्यज्योति क्लब फाइनलमा प्रवेश गरेका छन्। फाइनल खेल माघ १९ गते समापन समारोह अघि आयोजना गरिने खेलकुद कार्यक्रम संयोजक आशिष भण्डारीले जानकारी दिनुभयो।
विद्यालयस्तरीय यु–१४ हकीमा सेन्ट फ्रान्सिसको दबदबा
महानगरस्तरीय विद्यालयस्तरीय यु–१४ हकी प्रतियोगितामा सेन्ट फ्रान्सिस विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। केटा तथा केटी दुवै तर्फ सेन्ट फ्रान्सिसले उपाधि जित्दै प्रतियोगितामा दबदबा कायम गरेको हो।
केटातर्फको फाइनलमा सेन्ट फ्रान्सिसले सुक्रराज बालभद्र विद्यालयलाई ५–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। तेस्रो स्थानका लागि भएको खेलमा कालिकाले विभूतिलाई ५–० ले हराउँदै तेस्रो स्थान सुरक्षित गर्यो।
केटीतर्फको फाइनलमा सेन्ट फ्रान्सिसले कालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो।
सडक दौड प्रतियोगितामा राना र बुढाको जित
पुरुषतर्फको सडक दौड प्रतियोगितामा सुनगाभा झाल्पामार्ग टोल विकास संस्थाका शोभा राम राना प्रथम भएका छन्। उनले निर्धारित दूरी ५ मिनेट ४ सेकेन्ड २५ मिलिसेकेन्डमा पूरा गरे।
त्यस्तै ठुलो न्याउपाने टोल विकास संस्थाका ठाकुर बहादुर थापा मगर दोस्रो र कोल्पाटन टोल विकास संस्थाका ओम बहादुर खड्का तेस्रो भए।
महिलातर्फ जनजागृति आमा समूहकी पोम कुमारी बुढा प्रथम भइन्। उनले दूरी ३ मिनेट ११ सेकेन्ड १० मिलिसेकेन्डमा पूरा गरिन्।
भलिबलतर्फ चन्द्रसूर्य क्लब विजेता
क्लब तथा टोल विकास संस्थाबीचको भलिबल प्रतियोगितामा चन्द्रसूर्य क्लबले उपाधि जितेको छ। फाइनल खेलमा चन्द्रसूर्यले गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
स्वास्थ्य शिविरमा ३ सय ६८ जनाको परीक्षण
यसैबीच पोखरा–१५ स्थित शहरी स्वास्थ्य केन्द्रमा आयोजित क्षयरोग सम्बन्धी एआई एक्स–रे जाँचमा ३ सय ६८ जनाको परीक्षण गरिएको छ। परीक्षणमध्ये ५ जनामा क्षयरोग पोजेटिभ देखिएको र १८ जनालाई थप परीक्षणका लागि पठाइएको स्वास्थ्य केन्द्र प्रमुख सञ्जुना थापाले जानकारी दिनुभयो।