पोखरा। अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले पोखरामा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा कण्डमको महत्व, सुरक्षित यौन व्यवहार र एचआइभी/यौनरोग नियन्त्रणबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेशका क्षयरोग/एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एएचएफ नेपालले सन् २०११ देखि प्रणय दिवस (फेब्रुअरी १३) को अवसर पारेर अन्तर्राष्ट्रिय कण्डम दिवस मनाउँदै आएको जानकारी दिए।
“विश्वव्यापी रूपमा कण्डमको सही प्रयोगमार्फत सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउन रमाइलो र रचनात्मक कार्यक्रम गरिँदै आएको छ,” उनले भने, “यौनरोग संक्रमण बढ्दो अवस्थामा आफैं र आफ्नो यौन साथीको सुरक्षाका लागि कण्डमको प्रयोग अझै महत्वपूर्ण बनेको छ।”
बसौलाका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म गण्डकी प्रदेशमा ९ लाख ५३ हजार कण्डम वितरण गरिएको छ। गत आर्थिक वर्षमा २२ लाख ६४ हजार र अघिल्लो आर्थिक वर्षमा २३ लाख ९७ हजार कण्डम वितरण गरिएको तथ्यांक उनले प्रस्तुत गरे।
पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले यस वर्ष पनि पोखरामा कण्डम दिवस भव्य रूपमा मनाइने जानकारी दिए। “कण्डम केवल अस्थायी परिवार नियोजन साधन मात्र नभई यौनरोगबाट जोगाउने प्रभावकारी माध्यम पनि हो,” उनले भने, “यसको प्रचारप्रसारमा सबै पक्ष एकजुट हुन आवश्यक छ।”
एएचएफ नेपालका कार्यक्रम तथा बजार संयोजक राधेश्याम न्यौपानेले संस्थाको गतिविधिबारे जानकारी दिँदै एएचएफले ४९ देशमा २७ लाखभन्दा बढी मानिसलाई सेवा प्रदान गरिरहेको बताए। सन् २००८ देखि नेपालमा सक्रिय एएचएफले राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रसँग साझेदारी गर्दै २००९ मेदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमार्फत सेवा सञ्चालन गर्दै आएको उनले बताए। संस्थाले नेपालमा कण्डम वितरण, एचआइभी परीक्षण, एआरटी क्लिनिक सञ्चालनलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।
एएचएफ नेपाल, गण्डकीकी कार्यक्रम संयोजक विद्या कोइरालाले पत्रकार अन्तरक्रियासँगै शुक्रबार कण्डमसम्बन्धी सन्देशमूलक गीत प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन्। १० टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा उत्कृष्टलाई नगदसहित पुरस्कृत गरिनेछ। कार्यक्रमले सुरक्षित यौन व्यवहार, एचआइभी रोकथाम तथा कण्डम प्रयोगबारे जनचेतना विस्तारमा थप टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।