काठमाडौँ ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्री तथा नेपाली सेना दिवस २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा उहाँले महाशिवरात्री पर्वले आत्मशुद्धि, संयम, त्याग र सदाचारको मार्गतर्फ उन्मुख हुन प्रेरणा दिने उल्लेख गर्नुभएको छ। पशुपतिनाथका रूपमा आराध्य भगवान् शिवको उपासनाबाट प्राप्त आध्यात्मिक चेतनाले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र एकताको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।
त्यसैगरी, आजकै दिन मनाइने नेपाली सेना दिवसले राष्ट्रको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षणमा नेपाली सेनाले पुर्याउँदै आएको विशिष्ट योगदानको स्मरण गर्ने अवसर प्रदान गर्ने उहाँको भनाइ छ। राष्ट्रसेवामा समर्पित सम्पूर्ण नेपाली सेनाका सदस्यहरूप्रति उहाँले शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा महाशिवरात्री पर्व तथा नेपाली सेना दिवसले सबै नेपालीमा राष्ट्रप्रेम, कर्तव्यनिष्ठा र आपसी सहकार्यको भावना अझ सुदृढ बनाओस् तथा देशमा शान्ति, स्थायित्व, समृद्धि र प्रगतिका नयाँ सम्भावनाहरूको ढोका खुलोस् भन्ने कामना गरिएको उल्लेख छ।