पोखरा, ५ फागुन ।नेकपा (एमाले) कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रश्मि आचार्यले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र युवा रोजगारीलगायतका क्षेत्र समेटिएको प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

पर्यटनतर्फ उनले पोखरामा वार्षिक रूपमा आउने पर्यटक सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखेका छन्। विभिन्न डाँडामा भ्यू–पोइन्ट तथा सूर्योदय–सूर्यास्त अवलोकन केन्द्र निर्माण, होमस्टे प्रवर्द्धन, मट्टिखान–हुँडीकोट क्षेत्रमा थिम पार्कसहित रिजलाइन हाइकिङ विकास गर्ने योजना सार्वजनिक गरिएको छ। भीमाद हुँदै कावासोती जोड्ने फास्ट ट्र्याक निर्माण तथा जनकपुर, विराटनगर र धनगढीसम्म हवाई सेवा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता उनले जनाए।
साहसिक पर्यटन प्रवर्द्धनका लागि मनाङ र मुस्ताङसम्म जाने नयाँ पदमार्ग पहिचान तथा गण्डकी प्रादेशिक संग्रहालय स्तरोन्नतिमा जोड दिइने उल्लेख छ।
कृषितर्फ अर्मला, मौजा, काहुँ, भरतपोखरी, निर्मलपोखरी, भलाम र कृस्ती क्षेत्रमा पकेट जोनमार्फत तरकारी, फलफूल तथा नगदेबाली उत्पादन प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। प्रादेशिकस्तरको दुग्ध संकलन तथा प्रशोधन केन्द्र स्थापना, कृषि तथा पशुधन बिमा, सिँचाइ विस्तार, जडीबुटी उत्पादन र चिस्यान केन्द्र निर्माणसमेत प्राथमिकतामा राखिएको छ।
शिक्षा तथा सूचना प्रविधितर्फ सरकारी तथा सामुदायिक विद्यालयको स्तरोन्नति, बालविकास कार्यक्रम सुदृढीकरण तथा गण्डकी विश्वविद्यालयलगायतका संस्थामा रोजगारमुखी विषय सञ्चालन गर्ने योजना उल्लेख गरिएको छ।
पूर्वाधार विकासअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल, लिंकरोड निर्माण, व्यवस्थित सिटी बसपार्क तथा ट्याक्सी पार्क निर्माणमा जोड दिने प्रतिबद्धता गरिएको छ।
स्वास्थ्यतर्फ एकीकृत सेवा केन्द्र, सुरक्षित मातृत्व सेवा, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना, हिमालय आँखा अस्पतालको स्तरोन्नति तथा विशिष्टीकृत अस्पताल स्थापनामा पहल गर्ने योजना अघि सारिएको छ। साथै, फोहोरबाट ऊर्जा तथा कम्पोस्ट उत्पादन उद्योग स्थापना, नदी तटबन्ध निर्माण, खेलमैदान स्तरोन्नति, पार्क निर्माण र भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको छ।
पोखरा–३३ भरतपोखरी निवासी आचार्य अनेरास्ववियूका पूर्व केन्द्रीय उपाध्यक्ष तथा पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति हुन्। आगामी निर्वाचनमा कास्की–२ मा अन्य दलका उम्मेदवारसँग उनको प्रतिस्पर्धा रहनेछ।