पोखरा, ८ फागुन ।नेसनल भोलिन्टियर फोर्स गण्डकी प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेकाे झण्डा जलाएकाे घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थाले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भएकाले राजनीतिक दल खोल्ने, आफ्ना विचार राख्ने र लोकतान्त्रिक गतिविधि सञ्चालन गर्ने अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गरेको छ। तर लोकतन्त्रको नाममा अराजकता मच्चाउने, अन्य दलको मानमर्दन गर्ने, उच्च नेतृत्वमाथि आधारहीन आरोप लगाउने तथा चरित्र हत्या गर्ने कार्य अस्वीकार्य हुने गण्डकी प्रदेशका युनिफाइड कमान्डर पानबहादुर जी.सीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति अनुसार हिजो साँझ दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी झण्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि लाञ्छना लगाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै संगठनले आपत्ति जनाएको हो।
नेसनल भोलिन्टियर फोर्सले राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गर्नुपर्ने, आगो र अराजकताबाट होइन भन्दै झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्य लोकतान्त्रिक संस्कारविपरीत भएको उल्लेख गरेको छ। यस्ता गतिविधिले राजनीतिक संस्कार मात्र नभई सामाजिक सद्भावसमेत बिगार्ने खतरा रहेको चेतावनी दिइएको छ।
संगठनले उक्त घटनाको तत्काल छानबिन गरी संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रसँग माग गरेको छ। यदि यस्ता गतिविधिप्रति राज्य मौन बसे कानूनप्रति जनविश्वास कमजोर हुने उल्लेख गर्दै, दोषीलाई कारबाहीको दायरामा नल्याइए अन्याय र अराजकताविरुद्ध सशक्त प्रतिवादमा उत्रने चेतावनीसमेत दिइएको छ।