पोखरा, फागुन १५ — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले कास्की जिल्लाभर मदिराजन्य पदार्थको विक्री, वितरण, ओसारपसार तथा सेवनमा निषेध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्की ले सूचना जारी गर्दै मिति २०८२ फागुन १५ गते राति १२:०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म उक्त प्रतिबन्ध लागू रहने जनाएको हो। उक्त निर्णय निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८, निर्वाचन आयोग, नेपाल बाट २०८२/११/१३ मा प्रकाशित प्रेस विज्ञप्ति तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गरिएको कार्यालयले स्पष्ट पारेको छ।
कार्यालयका अनुसार निर्वाचन अवधिमा सार्वजनिक शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल, उम्मेदवार, तिनका प्रतिनिधि तथा आम सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार प्रतिबन्धको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायबाट सूक्ष्म अनुगमन तथा निगरानी गरिनेछ। आदेशको अवज्ञा वा उल्लङ्घन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित उक्त सूचना आजैदेखि लागू भएको जनाइएको छ।