काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा “झापामा बालेन साह माथि गोली प्रहार” भन्ने भ्रामक सूचना पोस्ट गरी सार्वजनिक शान्ति भंग हुने खालको सामग्री प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका–७ निवासी २३ वर्षीय प्रकाश भट्ट रहेका छन् । उनलाई मिति २०८२ फागुन १५ गते दिउँसो करिब १४:३० बजे काठमाडौं महानगरपालिका–५ डबली चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त भ्रामक सूचनाले समाजमा नकारात्मक असर पार्ने तथा सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको ठहर गर्दै उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा पुष्टि नभएको तथा भ्रामक सूचना प्रसारण नगर्न सबैमा अनुरोध समेत गरेको छ ।