पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का महासचिव तथा दाङ क्षेत्र नम्बर–२ का उम्मेदवार शंकर पोखरेल ले प्रतिनिधि सभा–२ बाट निर्वाचित विपिन आचार्य लाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा आएको उल्लेख गर्दै जनताले “नयाँबाट केही हुन्छ कि” भन्ने विश्वासका साथ मत दिएको बताएका छन्। उनले जनविश्वास अनुरूप अघि बढ्न प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी सबै प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना पनि दिएका छन्।
पोखरेलले यसपटक आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताले निकै मेहनत गरेको उल्लेख गर्दै शुभेच्छुक तथा आफन्तजनले दिएको साथ र सहयोगप्रति आभार व्यक्त गरेका छन्। तर ‘परिवर्तनको लहर’का कारण अपेक्षित परिणाम हासिल गर्न नसकिएको उनले बताएका छन्।
उनले प्रतिनिधि सभा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार विपिन आचार्य निर्वाचित भएकोमा हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
अन्त्यमा उनले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गर्दै निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा अनुरोध गरेका छन्।