महावीर पुनले चुनावमा २७ लाख रुपैयाँ बचत गरे

पाेखरा । महावीर‌ पुनले आफ्नो चुनाव अभियानसँग सम्बन्धित आम्दानी, खर्च र बाँकी रकमको विवरण सार्वजनिक गरेका छन्। उनले दाताहरूबाट प्राप्त सहयोगबाट सञ्चालन गरिएको चुनावी अभियानमा कूल ५६ लाख ३७ हजार ८ सय ९३ रुपैयाँ ४७ पैसा आम्दानी भएको जानकारी दिएका छन्।

पुनका अनुसार चुनाव प्रचारप्रसारका क्रममा २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च भएको छ भने बैंक खातामा अझै २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा बाँकी रहेको छ।

 

उनले बाँकी रहेको रकम म्याग्दीको बेनीमा पाँच वर्षका लागि सम्पर्क कार्यालय स्थापना गरेर खर्च गर्ने योजना रहेको बताएका छन्।

 

उक्त कार्यालयमार्फत गाउँघरबाट सदरमुकाम आउने नागरिकलाई सरकारी कामकाज तथा विभिन्न कार्यालयमा आवश्यक सामान्य सहयोग निःशुल्क उपलब्ध गराइने उनले बताए।

 

यसका लागि कार्यालयमा दुई जना कर्मचारी राखिने तथा कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टर जस्ता आवश्यक उपकरण राखेर सेवा सञ्चालन गरिने पुनले जानकारी दिएका छन्। उनले चुनाव प्रचारका क्रममा गाउँ–गाउँ पुग्दा नागरिकसँग गरेको प्रतिबद्धताअनुसार नै यो काम गर्ने बताएका छन्।

 

पुनका अनुसार चुनाव प्रचारका क्रममा ४५ दिनसम्म १० देखि १६ जनाको टोलीले बिहान ७ बजेदेखि राति १० बजेसम्म म्याग्दीका दुर्गम गाउँहरूमा पुगेर प्रचारप्रसार गरेको थियो। म्याग्दी जिल्ला भौगोलिक रूपमा विकट भएकाले सबै गाउँमा पुग्न दुई पटकसम्म घुमेर प्रचार गर्न करिब डेढ महिना लागेको उनले बताए।

 

उनले म्याग्दीको दुर्गम भूगोलका कारण छोटो समयमा चुनावी क्षेत्र घुम्न सम्भव नभएको उल्लेख गर्दै आवश्यक परे जो–कोहीलाई आफैं आएर जिल्लाको अवस्था अवलोकन गर्न आग्रह समेत गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...