पोखरा। गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले आफ्नो शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा पहिलो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ। विश्वविद्यालयले २०८२ चैत २८ गते पोखरा–३२ मालमुलस्थित आफ्नै प्राङ्गणमा समारोह आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन आयाेजना गरेर जानकारी दिएकाे हाे ।

नेपालको संविधान २०७६ अनुसार स्थापना भएको गण्डकी विश्वविद्यालय प्रदेशस्तरीय पहिलो विश्वविद्यालय हो, जसको सर्वोच्च निकाय न्यासिक परिषद् रहेको छ। छोटो अवधिमै विश्वविद्यालयले शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै हाल ६ वटा कार्यक्रमअन्तर्गत करिब ७५० जना विद्यार्थीलाई अध्ययन गराइरहेको कुलपति प्राध्यापक चन्द्रप्रसाद तिवारीले बताए ।
विश्वविद्यालयले गुणस्तरीय शिक्षा, अनुसन्धान र सुशासनलाई मूल आधार मानी स्नातक तहदेखि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा स्नातकोत्तर तथा विद्यावारिधि (PhD) कार्यक्रम विस्तार गर्ने लक्ष्यसमेत विश्वविद्यालयले लिएको छ।
४४ विद्यार्थी दीक्षित हुने
पहिलो दीक्षान्त समारोहमा विभिन्न कार्यक्रमअन्तर्गत कुल ४४ जना विद्यार्थी दीक्षित हुनेछन्। जसमा BSM का ११, BIT का १८ र B.Pharm का १५ जना विद्यार्थी रहेकाे
समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने प्रमुख दीक्षान्त वक्ताका रूपमा प्राध्यापक बेदारभक्त माथेमा रहनेछन्। करिब ५०० जना विशिष्ट व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
पदक र सम्मान
दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिनेछ। एक जना विद्यार्थीलाई कुलपति पदक (Chancellor Medal) तथा प्रत्येक कार्यक्रमबाट उत्कृष्ट एक–एक जना गरी तीन जनालाई उपकुलपति पदक (Vice Chancellor Medal) प्रदान गरिनेछ।
व्यवस्थापनका लागि पाँच उपसमिति
समारोहलाई व्यवस्थित बनाउन पाँच उपसमिति गठन गरिएको छ, जसमा कार्यविधि तथा सञ्चालन,शैक्षिक प्रमाणीकरण,रसद तथा व्यवस्थापन, निमन्त्रणा तथा प्रोटोकल,वित्त तथा खरिद
उपसमितिहरूले आ–आफ्नो जिम्मेवारी अनुसार तयारीका अधिकांश कार्य सम्पन्न गरिसकेको विश्वविद्यालयले जनाएको छ।
दीक्षान्त समारोहमा ग्रेस सूची स्वीकृतिपछि पञ्चेबाजासहित औपचारिक ‘कन्भोकेशन प्रोसेशन’ गरिनेछ। समारोहमा निर्धारित पोशाक (ड्रेस कोड) अनिवार्य गरिएको छ।
अनुसन्धानमा पनि जोड
विश्वविद्यालयले हालै “Gandaki Research Program (GRP)” र “Gandaki Research Management Program (GRMP)” सुरु गर्दै अनुसन्धान र नवप्रवर्तनलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। यसअन्तर्गत शोधार्थीहरूलाई अनुसन्धानवृत्ति प्रदान गर्ने योजना अघि सारिएको छ।
विश्वविद्यालयका अनुसार पहिलो दीक्षान्त समारोह केवल उपाधि वितरण मात्र नभई संस्थागत परिपक्वता, शैक्षिक उत्कृष्टता र सुशासनको सार्वजनिक अभिव्यक्ति हो। यसले गण्डकी विश्वविद्यालयलाई प्रदेश तथा राष्ट्रिय स्तरमा उच्च शिक्षाको सशक्त केन्द्रका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।