सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट भ्रममा नपर्नुहोस्’

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले आफ्नो र परिवारको नाममा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने समाचारप्रति प्रतिक्रिया जनाउँदै उक्त विषयमा भ्रामक र झुटा प्रचार भइरहेको बताएका छन्।


देउवाले सञ्चारमाध्यममार्फत सार्वजनिक भएको जानकारीप्रति ध्यानाकर्षण गराउँदै आफू र आफ्नो परिवारले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गर्दै आएको स्पष्ट पारेका छन्।
उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताप्रति आफू जीवनभर प्रतिबद्ध रहँदै आएको उल्लेख गरेका छन्। “मेरो जीवन खुला पुस्तकजस्तै रहेको छ,” उनले बताएका छन्।

 

भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो योगदान उल्लेख गर्दै देउवाले गृहमन्त्री हुँदा वि.सं. २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ल्याउन पहल गरेको र प्रधानमन्त्रीका रूपमा वि.सं. २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको स्मरण गराएका छन्।

 

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै उनले उपचार प्रक्रिया जारी रहेको बताएका छन्।देउवाले वास्तविकता समयक्रमसँगै स्पष्ट हुने उल्लेख गर्दै अतिरञ्जित र अप्रमाणित सूचनाबाट भ्रममा नपर्न सबैमा अपिल गरेका छन्।

टिप्पणिहरु
लोड हुदै...