पोखरा, वैशाख ।गण्डकी प्रदेशका निर्वतमान स्वास्थ्य मन्त्री एवं प्रदेश सभा सदस्य कृष्ण प्रसाद पाठक ले आफ्नो कार्यकाललाई ऐतिहासिक र उपलब्धिमूलक रहेको बताएका छन्।

उनले २०८१ भदौ १७ गतेदेखि १ वर्ष ७ महिना १५ दिनसम्म स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएको उल्लेख गर्दै यस अवधिमा प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधारका कामहरू सम्पन्न भएको दाबी गरेका छन्।
पाठकका अनुसार प्रदेश अस्पतालहरूको स्तरोन्नति, शैय्या संख्या वृद्धि, लामो समयदेखि रोकिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) सम्पन्न, विशेषज्ञ तथा विशिष्टीकृत सेवाको विस्तार, औजार–उपकरण व्यवस्थापन तथा संघीयताको मर्मअनुसार संरचनागत सुधार जस्ता कार्यहरू भएका छन्। साथै प्रदेशभित्रै प्रविणता प्रमाणपत्र तहको चिकित्सा शिक्षा सञ्चालनको अन्तिम तयारी, जनस्वास्थ्य सेवा ऐन निर्माण तथा विभिन्न नीतिगत सुधारहरू पनि सम्पन्न गरिएको उनले बताएका छन्।
त्यसैगरी विशेषज्ञ जनशक्ति व्यवस्थापन, अस्पताल पूर्वाधार निर्माण, आयुर्वेद अस्पतालहरूको स्तरोन्नति तथा मातृ–नवजात शिशु, असहाय, वृद्ध, बालबालिका र मनोरोगी बिरामीहरूको निःशुल्क उपचार कार्यक्रमलाई पनि उनले आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धि मानेका छन्।
उनले कुनै विवाद वा आरोपबिना आफ्नो कार्यकाल पूरा गर्न पाएकोमा गौरव महसुस भएको उल्लेख गर्दै जिम्मेवारी प्रदान गर्ने आफ्नो दल, दलका नेताहरू, माननीय मुख्यमन्त्री, सचिवालयका सदस्य तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतका सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।
अन्त्यमा, गण्डकी प्रदेश सरकारको पुनर्गठित मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई उनले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।