पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको १० घण्टे स्वीप अपरेशनमा १२२ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार लागू औषधको कारोबार तथा सेवन, टोल–गुण्डागर्दी, सार्वजनिक स्थानमा होहल्ला तथा समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उक्त अपरेशन सञ्चालन गरिएको हो।

मिति २०८३ वैशाख ९ गते साँझदेखि १० गते बिहानसम्म गरिएको अपरेशनमा पोखरा महानगरपालिकाका विभिन्न वडा तथा आसपास क्षेत्रबाट लागू औषध सेवन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र शंकास्पद रूपमा हिँडडुल गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्वीप अपरेशनमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट करिब १०० जना प्रहरी परिचालन गरिएको थियो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले यस्ता अपरेशन आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने र समाजमा अशान्ति फैलाउने, लागू औषध सेवन तथा अन्य अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडाइका साथ कारबाही गरिने जनाएको छ।