पाेखरा ।श्रम तथा रोजगार कार्यालय, पोखराले १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८३ को अवसरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम जिल्ला समन्वय समिति कास्कीको सभाहलमा आयोजित गरिएको थियो।

कार्यालयले श्रम विवाद समाधान, ट्रेड युनियन दर्ता तथा नवीकरण, उद्योग प्रतिष्ठानको अनुगमन, बालश्रम नियन्त्रण तथा उद्धार, श्रम स्वीकृति प्रदानलगायतका काम गर्दै आएको जनाएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म १० जना बालश्रमिकको उद्धार गरिएको, करिब ९९ हजार रुपैयाँ पारिश्रमिक दिलाइएको तथा १ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिइयो। साथै विभिन्न सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या, श्रम सम्झौता नगर्ने प्रवृत्ति, अनौपचारिक क्षेत्रमा विवाद समाधानमा कठिनाइ तथा प्राविधिक जनशक्ति अभावजस्ता चुनौतीहरू पनि औंल्याइएका छन्।
कार्यक्रमको समापन गर्दै वरिष्ठ श्रम अधिकृत चण्डिका पौडेलले श्रमिक र रोजगारदाताबीच समन्वय बढाउँदै श्रमिक अधिकार सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।