भूमिहीन तथा सुकुम्बासीको पक्षमा आन्दोलन घोषणा

पोखरा । आम सुकुम्बासी मोर्चा (प्रदेश समिति, गण्डकी) ले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै भूमिहीन तथा सुकुम्बासीको संरक्षणका लागि आन्दोलन गर्ने घोषणा गरेको छ।


मोर्चाका संयोजक भीमसेन शाहद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले बिना तयारी र गैरकानुनी ढंगले डोजर प्रयोग गरी बस्ती हटाउने, घरटहरा भत्काउने कार्य गरेको आरोप लगाइएको छ। यस्तो कार्यले वर्षौंदेखि विभिन्न स्थानमा बसोबास गर्दै आएका भूमिहीन नागरिकहरू त्रसित बनेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ कि सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका नागरिकको व्यवस्थापन नगरी जबर्जस्ती हटाउने प्रयासले देशभर अस्थिरता सिर्जना भएको छ। साथै, विभिन्न कारणले दर्ता प्रक्रियामा समस्या भएका तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका नागरिकसमेत सरकारी कदमका कारण प्रभावित बनेका छन्।

 

मोर्चाले सरकारलाई भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई उचित सम्मान गर्दै वैकल्पिक व्यवस्था गर्न माग गरेको छ। अन्यथा, सरकारविरुद्ध व्यापक आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।

 

प्रेस विज्ञप्तिमा सम्पूर्ण नागरिक समाज, बुद्धिजीवी, पत्रकार, कानुन व्यवसायी तथा सम्बन्धित संघसंस्थालाई उक्त अभियानमा साथ दिन आह्वान गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...