मध्यपहाडी लोकमार्ग हुँदै पोखराको पर्यटन प्रवद्र्धन

पोखरा, जेठ .“पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” भन्ने नारासहित मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन अभियानमा निस्किएको टोली सोमबार पोखरा फर्किएको छ।पृथ्वी होटल व्यवसायी समिति पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय र पोखरा महानगरपालिकाको सहकार्यमा जेठ १ गते सुरु भएको अभियान टोलीले बागलुङ, पूर्वी रुकुम, पश्चिम रुकुम र ढोरपाटन पुगेर आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि निम्तो दिएको हो। टोलीमा  पृथ्वी होटल व्यवसायी समिति, समितिका पूर्वअध्यक्षहरु, सल्लाहकार, पत्रकार तथा कलाकार सहित २६ जना सहभागी थिए।अभियान अन्तर्गत बागलुङ बजार र पुर्वी रुुकुमको रुकुमकोट ,पश्चिम रुकुमको मुसिकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा पर्यटन सहकार्य, गन्तव्य प्रवद्र्धन, सेवा गुणस्तर सुधार तथा दिगो पर्यटन विकासको विषयमा छलफल भएको थियो।

बागलुङमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नवीन श्रेष्ठलगायतले पोखरा र बागलुङबीच पर्यटन सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। पश्चिम रुकुममा जिल्ला समन्वय समिति उपप्रमुख दीपेन्द्र विकले पोखराको पर्यटन विकासबाट रुकुमले सिक्नुपर्ने धेरै विषय रहेको बताए। मध्यपहाडी लोकमार्ग निर्माणपछि दुई क्षेत्रबीचको सम्बन्ध थप बलियो बनेको उल्लेख गर्दै उनले पर्यटन आदानप्रदान बढाउन आवश्यक रहेको धारणा राखे।

 

मुसिकोट नगरपालिका–१० का अध्यक्ष बसन्त खड्काले रुकुममा पर्याप्त पर्यटन सम्भावना भए पनि अपेक्षित प्रवद्र्धन हुन नसकेको बताए। उनले ढोरपाटन शिकार आरक्षदेखि प्राकृतिक तथा ऐतिहासिक स्थलसम्मका सम्भावनालाई जोड्दै निजी क्षेत्र र राज्य दुवैले पर्यटन विकासमा ध्यान दिनुपर्ने बताए। पश्चिम रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्काले पोखरालाई प्रकृतिको अनुपम उपहारको संज्ञा दिँदै पोखरा र रुकुमबीच पर्यटक आदानप्रदानका लागि सहकार्य आवश्यक रहेको बताए।

 

पृथ्वी होटल व्यवसायी समिति कास्कीका अध्यक्ष मोतीप्रसाद श्रेष्ठले मध्यपहाडी लोकमार्ग आसपासका जिल्लासँग पर्यटन सहकार्य विस्तार गर्न अभियान सञ्चालन गरिएको बताए। पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै उनले पोखरा र मध्यपहाडी क्षेत्रबीचको पर्यटन आदानप्रदानबाट दुवै क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागीहरूले पोखराको ताल, हिमाल, प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिएका थिए। साथै पर्यटकको बसाइ अवधि लम्व्याउने, सेवा गुणस्तर सुधार गर्ने र होटल व्यवसायलाई थप व्यवस्थित तथा प्रतिस्पर्धी बनाउने विषयमा पनि छलफल भएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...