पाेखरा १७ मा लागु पदार्थ तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

पाेखरा ।पोखरा महानगरपालिका वडा नं. १७ कार्यालयले वडा अन्तर्गतका युवा क्लब तथा टोल विकास संस्थामा आबद्ध युवाहरुलाई लक्षित गर्दै लागु पदार्थ तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। “सचेत युवा, सुरक्षित समाज” तथा “लागु पदार्थ मुक्त वडा, साइबर अपराध रहित समाज” भन्ने नारासहित आयोजित कार्यक्रममा युवाहरुलाई लागुऔषध दुर्व्यसन र साइबर अपराधका विभिन्न पक्षबारे जानकारी गराइएको थियो।

कार्यक्रममा लागुऔषध प्रयोगका कारण व्यक्तिको स्वास्थ्य, परिवार र समाजमा पर्ने नकारात्मक असर, यसको रोकथामका उपाय, युवाको जिम्मेवारी तथा साइबर अपराधबाट जोगिने उपायबारे प्रशिक्षण दिइएको थियो। सहभागीहरुलाई सामाजिक सञ्जाल तथा मोबाइल प्रविधिको सुरक्षित प्रयोग, अनलाइन ठगी, फेक आईडी, पासवर्ड सुरक्षा लगायतका विषयमा समेत सचेत गराइएको थियो।

 

लागुऔषध तथा साइबर क्राइम सम्बन्धी सहजीकरण जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी अधिकृत हुत्तराजले गरेका थिए। उनले पछिल्लो समय युवामाझ लागुऔषध दुव्र्यसन र साइबर अपराधका घटना बढ्दै गएको उल्लेख गर्दै सचेतना नै यसको प्रमुख समाधान भएको बताए।

 

 

उनले सामाजिक सञ्जालको गलत प्रयोग, अपरिचित व्यक्तिसँग अनलाइन सम्पर्क, बैंकिङ तथा व्यक्तिगत विवरण साझेदारी गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे।

 

कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष राधिका शाहीले लागुऔषध प्रयोगले समाजमा आपराधिक गतिविधि बढाउनुका साथै युवाको भविष्य नै बर्बाद हुने बताइन्।

 

 

उनले पछिल्लो समय साइबर अपराधका घटना पनि तीव्र रुपमा बढ्दै गएको उल्लेख गर्दै युवाले मोबाइल तथा इन्टरनेटको सही सदुपयोग गर्नुपर्नेमा जोड दिइन्। “प्रविधिको सही प्रयोगले जीवन सफल बनाउन सक्छ भने गलत प्रयोगले जीवन बर्बाद पनि बनाउन सक्छ,” उनले भनिन्।

 

कार्यक्रममा वडा सदस्य विक्रम गुरुङ, वडा सचिव सुरेन्द्र शर्मा लगायतले युवाहरु सचेत र जिम्मेवार भए मात्र समाज सुरक्षित बन्न सक्ने धारणा राखेका थिए। कार्यक्रममा सहभागी युवाहरुले यस्ता सचेतनामूलक कार्यक्रमले आफूहरुलाई व्यवहारिक जानकारी प्राप्त भएको बताएका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...