पोखरा । सीमान्तकृत महिलाहरूको नेतृत्व क्षमता विकास गर्दै सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा उनीहरूको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने नेतृत्व विकास तथा जनवकालतसम्बन्धी तालिम सम्पन्न भएको छ ।

मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपाल कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २६ को सहयोगमा “सीमान्तकृत महिलाहरूका लागि नेतृत्व विकास तथा जनवकालत” विषयक तालिम २०८३ जेठ ७ गतेदेखि ९ गतेसम्म अर्घौचोकमा सञ्चालन गरिएको हो । तालिममा ५० जना महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापा ले यस्ता तालिमहरूले स्थानीय तहमा सीमान्तकृत महिलाहरूको आवाजलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले तालिमले सहभागी महिलाहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै नीति निर्माण तहमा उनीहरूको सहभागिता सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग की प्रदेश प्रमुख नितु गर्तौला ले मानव अधिकार प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार भएकाले यसको संरक्षण राज्यको प्राथमिक जिम्मेवारी भएको बताउनुभयो । उहाँले उजुरी प्रणालीलाई प्रभावकारी बनाउने, पीडितमैत्री न्याय सुनिश्चित गर्ने तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले परम्परागत विषयभन्दा दिगोपना र समय सान्दर्भिकतालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै यस्ता क्षमता अभिवृद्धि तालिमहरूले मानव अधिकार र सामाजिक न्याय प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा प्रशिक्षक भक्तराज रसाइली ले नेतृत्व विकास, जनवकालत, मानव अधिकार तथा सामाजिक विभेद न्यूनीकरणका विषयमा सहजीकरण गर्नुभएको थियो ।
सहभागीहरू अञ्जना विक, शुसिला विक र ज्योति विक ले तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिँदै सिकेका अनुभव समुदायस्तरसम्म साझा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दलित महिला सशक्तीकरण नेपालका अध्यक्ष इश्वरी बिकको अध्यक्षतामा कार्यक्रम भएको थियो। स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे संस्थाकी सदस्य बविता विक ले प्रकाश पार्नुभएको थियो भने सञ्चालन सचिव सपना विक ले गर्नुभएको थियो ।