पोखराका पानी उद्योगमा महानगरको अनुगमन

एकराज गिरी, पोखरा । पोखरा महानगरपालिकाले आज पोखरामा सञ्चालित पाँच वटा खानेपानी तथा मिनरल वाटर उद्योगहरूको अनुगमन गरेको छ ।

पोखरा महानगरपालिकाकी उपप्रमुख एवं बजार अनुगमन समितिकी संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको हो । पोखरा बजारमा बिक्री हुने पिउने पानीको गुणस्तरबारे नागरिकबाट गुनासो आएपछि अनुगमन गरिएको महानगरले जनाएको छ ।


अनुगमन टोलीले पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालित पेन्गुइन आक्वा मिनरल वाटर, सिएम आक्वा मिनरल वाटर, क्रिष्टल मिनरल वाटर, नेशनल मिनरल वाटर तथा पोखरा–१ सिमपानीमा सञ्चालित अमृतजल धारा उद्योगको निरीक्षण गरेको थियो ।


बजार अनुगमन टोलीले उद्योगहरूको स्थलगत निरीक्षण गर्दै विभिन्न कानुनी तथा प्राविधिक पक्षको जाँच गरेको थियो । अनुगमनका क्रममा मूल्यसूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, खाद्य अनुज्ञापत्र, स्थायी लेखा नम्बर (प्यान/भ्याट), खरिद–बिक्री बिल, सरसफाइको अवस्था तथा नापतौलसम्बन्धी विषयको निरीक्षण गरिएको थियो ।

 

अनुगमनका क्रममा पानीका जार तथा कर्मचारीको सरसफाइमा विशेष ध्यान दिनुपर्ने, जार र बोतलमा स्पष्ट देखिने गरी मूल्य उल्लेख गर्नुपर्ने पाइएको महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

 

केही उद्योगमा सरसफाइको अवस्था कमजोर रहेको, मूल्यसूची नराखिएको तथा नापतौल नवीकरण नियमित नभएको भेटिएको छ । अनुगमन टोलीले सरसफाइमा तत्काल सुधार गर्न, नापतौल नियमित गर्न तथा आवश्यक कागजात अद्यावधिक गर्न निर्देशन दिएको छ ।

 

त्यस्तै खाद्य अनुज्ञापत्र, नवीकरण तथा सम्बन्धित कागजातसहित एक साताभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुनसमेत निर्देशन दिइएको छ । टोलीले पुनः अनुगमन गर्दा निर्देशन पालना नभए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

 

अनुगमन टोलीमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, जिल्ला प्रशासन कार्यालयका प्रेमप्रसाद रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका दीपक केसी, गुणस्तर तथा नापतौल कार्यालयका निरीक्षक रघुनाथ पौडेल, पोखरा महानगर सहकारी शाखा अधिकृत कल्पना बराल, सहकारी शाखा लेखा राजु सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्च महानगरका अध्यक्ष मिलनप्रसाद तिवारी तथा पत्रकारहरू कमल पौडेल ‘अथक’, धनश्याम पाण्डे र एकराज गिरीको सहभागिता रहेको थियो ।
महानगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...