पोखरा, जेठ १७ । नेपालमा बालबालिकाविरुद्ध हुने अनलाइन यौन दुर्व्यवहार तथा शोषणका घटना बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। पोखरामा आयोजित ‘बालअधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तर्क्रियामा आर्थिक वर्ष २०८०/८१ मा ७७२ जना बालबालिका साइबर अपराधको सिकार भएको तथ्य सार्वजनिक गरिएको छ।

कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरे ले डिजिटल वातावरणमा बालबालिकाको अधिकार संरक्षण सुनिश्चित गर्न राज्यले प्रभावकारी नीति तथा नियम लागू गर्नुपर्ने बताए। अग्रज पत्रकार गंगाधर पराजुली ले बालसंवेदनशील पत्रकारिताको महत्वबारे प्रकाश पार्दै सञ्चारमाध्यमले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।
त्यस्तै, केशवशरण लामिछाने, बासुदेव पौडेल, सन्देश श्रेष्ठ र युवराज श्रेष्ठ ले अनलाइन बाल सुरक्षा र सचेतनामूलक पत्रकारिताको आवश्यकता औँल्याए। कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना शर्मा ले सूचना प्रविधिसँगै बढेका चुनौती सामना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताइन्।
कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यमका २९ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो।