एकराज गिरी/जेठ । नारायणी नदीको किनारमा बिहानको पहिलो घाम झुल्किँदै गर्दा त्रिवेणीधामको वातावरण आध्यात्मिक आस्थाले भरिन थाल्छ। मन्दिर परिसरमा गुञ्जिने शंखध्वनि, नदीतर्फ स्नानका लागि जाने श्रद्धालुहरूको भीड, पूजा–आराधनामा व्यस्त भक्तजन र वरिपरिको प्राकृतिक सौन्दर्यले जो–कोहीलाई आकर्षित गर्छ। यही पवित्र भूमिमा अवस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाम पछिल्लो समय नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

गण्डकी प्रदेशकाे नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–६ मा रहेको यो धाम धार्मिक आस्था, इतिहास, संस्कृति, शिक्षा, गौसंरक्षण, सामाजिक सेवा र पर्यटनको अद्वितीय संगमका रूपमा परिचित छ। नारायणी, सोनभद्रा र पर्णभद्रा नदीको पवित्र संगमस्थलमा रहेको यस धामले प्रत्येक वर्ष लाखौं श्रद्धालु र पर्यटकलाई आकर्षित गरिरहेको छ।धार्मिक पर्यटनका लागि प्रचुर सम्भाबना बाेकेकाे यस ठाँउकाे प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेकाे छ । यस क्षेत्रलाइ प्रचार गर्नसक्ने हाे भने धार्मिक पर्यटनका लागि उत्कृष्ट गन्तब्य मात्रै हैन गण्डकी प्रदेशकाे अर्थतन्त्रमा पनि महत्वपूर्ण भुमिका खेल्न सक्छ ।

श्रीमद्भागवत महापुराणमा वर्णित गजेन्द्रमोक्षको कथा यस धामको प्रमुख आधार हो। परापूर्वकालमा गजेन्द्र नामका शक्तिशाली हात्ती आफ्ना समूहसहित नदीमा जलविहार गर्न आएका बेला ग्राह अर्थात् गोहीको आक्रमणमा परेका थिए।

लामो संघर्षपछि आफ्ना सबै शक्ति समाप्त हुँदै गएको महसुस गरेका गजेन्द्रले भगवान् विष्णुको स्मरण गरे। भक्तको पुकार सुनेर भगवान् विष्णु गरुडमा आरूढ भई आउनुभयो र सुदर्शन चक्रद्वारा ग्राहलाई मुक्त गर्दै गजेन्द्रको उद्धार गर्नुभयो। हिन्दु दर्शनमा भक्तिको सर्वोच्च उदाहरण मानिने यही प्रसंगसँग जोडिएर त्रिवेणीधामलाई गजेन्द्रमोक्षस्थलका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ।
धार्मिक विश्वासअनुसार गजेन्द्र पूर्वजन्ममा पाण्ड्यवंशी राजा इन्द्रद्युम्न थिए भने ग्राह हुहु नामका गन्धर्व थिए। ऋषिहरूको श्रापका कारण उनीहरू हात्ती र गोहीका रूपमा जन्मिएका थिए। भगवान् विष्णुद्वारा दुवैले मोक्ष प्राप्त गरेकाले यस क्षेत्रको नाम नै श्रीगजेन्द्रमोक्ष दिव्यधाम रहन गएको जनविश्वास छ।

आजको विशाल धाम निर्माणमा श्रद्धेय श्रीमुक्तिनाथ बाबाकाे योगदान विशेष रूपमा स्मरणीय छ। उहाँले वि.सं. २०४८ माघ अमावश्यादेखि अखण्ड दीप प्रज्वलन र नित्य हवनको संकल्प गर्नुभएको थियो। बाह्र वर्षसम्म सञ्चालन गर्ने संकल्प गरिएको धार्मिक अभियानअन्तर्गत १ हजार ५ सय ५५ दिनसम्म अखण्ड अग्नि प्रज्वलित राखी हवन गरिएको थियो। यही साधना र तपस्याको जगमा आज विशाल धार्मिक केन्द्र निर्माण भएको हो।
वि.सं. २०७५ फागुन १९ गते नेपाल र भारतका सन्त–महन्त, धर्माचार्य तथा ५५५ संस्थापक सदस्यहरूको सहभागितामा श्रीगजेन्द्रमोक्ष नारायण मन्दिरको समुद्घाटन तथा प्राणप्रतिष्ठा सम्पन्न गरिएको थियो। नेपाली प्यागोडा शैली र दक्षिण भारतीय वास्तुकलाको सुन्दर संयोजनमा बनेको पाँचतले मन्दिर धामको प्रमुख आकर्षण बनेको छ। मन्दिरमा ३१ वटा ढोका, ९६ वटा झ्याल तथा पाँच सयभन्दा बढी मूर्तिहरू निर्माण गरिएका छन्। शंख, चक्र, तिलक, पुष्प, गौ, हस्ती र अश्वलगायतका वैष्णव प्रतीकहरूले मन्दिरको सौन्दर्यलाई थप भव्य बनाएका छन्।
मन्दिर परिसरमा रहेको अष्टकोणात्मक शीशमहल अर्को विशेष आकर्षण हो। यहाँ राधाकृष्ण भगवान्को दिव्य दर्शन गर्न सकिन्छ। चारैतिर राखिएका ऐनाका कारण परिक्रमा गर्दा प्रतिविम्ब देखिने भएकाले दर्शनार्थीले फरक आध्यात्मिक अनुभूति प्राप्त गर्ने गर्छन्। विश्वशान्ति मुक्तिनाथ १०८ विराट महायज्ञका क्रममा प्रयोग गरिएको अष्टधातुको कलश पनि यही परिसरमा सुरक्षित राखिएको छ।
धामले धार्मिक गतिविधिसँगै शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। वि.सं. २०४८ देखि सञ्चालनमा आएको संस्कृत गुरुकुल हाल श्रीमुक्तिनाथ पीठ वेद विद्याश्रमका रूपमा विकसित भएको छ। नेपाल सरकारबाट स्वीकृति प्राप्त आवासीय गुरुकुलमा हाल करिब एक सय बटुकहरूले संस्कृत, वेद, दर्शन र आधुनिक शिक्षा अध्ययन गरिरहेका छन्। वैदिक ज्ञान परम्पराको संरक्षणमा यस संस्थाको भूमिका उल्लेखनीय मानिन्छ।
गौसंरक्षणलाई पनि धामले विशेष प्राथमिकता दिएको छ। वि.सं. २०५० मा स्थापना गरिएको श्रीगजेन्द्रमोक्ष कामधेनु गौशालामा हाल करिब १५० वटा वैदिक गाईहरूको संरक्षण र सेवा भइरहेको छ। धार्मिक महत्वसँगै जैविक कृषि र पर्यावरण संरक्षणमा समेत गौशालाले योगदान पुर्याइरहेको छ।
धामले सामाजिक सेवाका क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आएको छ। साधना हल, धर्मशाला, अन्नदान क्षेत्र तथा सत्सङ्ग भवनमार्फत देश–विदेशबाट आउने साधुसन्त, साधक तथा तीर्थयात्रीहरूलाई सेवा प्रदान गरिँदै आएको छ। दैनिक करिब १५० जनासम्मका यात्रुका लागि भोजन र आवासको व्यवस्था रहेको धाम व्यवस्थापनले जनाएको छ।
त्रिवेणीधाम क्षेत्र आफैंमा धार्मिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण क्षेत्र हो। वाल्मीकि आश्रम, केउलानी माता, नागस्थान, रामजानकी मन्दिर, विष्णुधाम, कोटिहोम, लक्ष्मीनारायण मन्दिर, भक्तेश्वर मन्दिर, कठवाँ गुफा लगायतका धार्मिक स्थल यही क्षेत्रभित्र रहेका छन्। धार्मिक विश्वासअनुसार वाल्मीकि आश्रममा महर्षि वाल्मीकिले रामायण रचना गर्नुभएको थियो भने माता सीताले वनवास बिताएको र लव–कुशको जन्म भएको स्थल पनि यही क्षेत्र मानिन्छ।
धामका निर्देशक तथा उत्तराधिकारी स्वामी श्रीकृष्ण प्रपन्नाचार्य (रूपासी) धार्मिक पर्यटनलाई राष्ट्रिय विकासको महत्वपूर्ण आधार मान्नुहुन्छ। उहाँका अनुसार धार्मिक पर्यटनसँग देशलाई नजोडी समग्र विकास सम्भव छैन। उहाँले धाममा वार्षिक करिब पाँच लाख पर्यटक आउने गरेको र तीमध्ये झण्डै ९० प्रतिशत भारतीय श्रद्धालु रहेको जानकारी दिनुभयो। प्रभावकारी प्रचारप्रसार, गुणस्तरीय सडक सञ्जाल, सुरक्षित यात्रा तथा पर्यटकीय पूर्वाधार विकास गर्न सके पर्यटक संख्या अझै बढ्ने उहाँको विश्वास छ।
उहाँले धार्मिक पर्यटन प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय सरकार तीनै तहबाट पर्याप्त बजेट र दीर्घकालीन योजना आवश्यक रहेको बताउनुहुन्छ। हाल भइरहेका निर्माण कार्य भक्तजन, प्रदेश सरकार र संघीय सरकारको सीमित सहयोगबाट सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले धार्मिक सम्पदालाई राष्ट्रिय विकासको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
जनैपूर्णिमा, माघ अमावस्या, रामनवमी, श्रावण मेला, तुलसी एकादशी र चैत्र वारुणीजस्ता पर्वका अवसरमा यहाँ लाग्ने मेलाले यस क्षेत्रको धार्मिक तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाएको छ। पछिल्ला वर्षहरूमा धार्मिक पर्यटकहरूको संख्या निरन्तर बढ्दै गएको छ।
धर्म, संस्कृति, शिक्षा, सेवा, गौसंरक्षण र पर्यटनको सुन्दर संगम बनेको श्रीगजेन्द्रमोक्ष दिव्यधाम आज नवलपरासीको मात्र होइन, समग्र नेपालको गौरवका रूपमा स्थापित हुँदै गएको छ। उचित संरक्षण, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न सके त्रिवेणीधाम भविष्यमा दक्षिण एसियाकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास हुने प्रबल सम्भावना बोकेको छ।