पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शव व्यवस्थापनका लागि पाेटेबल मर्चरी हाउस हस्तान्तरण

एकराज गिरी/पोखरा । प्राकृतिक विपद्, दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शवलाई लामो समयसम्म सुरक्षित राखी व्यवस्थापन गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लाई पोर्टेबल मर्चरी हाउस (शव गृह) हस्तान्तरण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आह्वानमा निर्माण गरिएको मर्चरी हाउस आज प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले मर्चरी हाउसको चाबी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत फरेन्सिक विभागका प्रमुख डा. मदन बराललाई हस्तान्तरण गरे।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि भदौ ११ गतेदेखि शव व्यवस्थापनको जिम्मेवारी आएको स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले त्यसबाट सिकेर मर्चरी हाउस निर्माण गरिएको बताए।

 

“शव व्यवस्थापनको जिम्मेवारी आइपरेपछि त्यसबाट सिकेर यो निर्माण गरिएको हो। यो बनाउन विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्नुभएको छ। उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु,” उनले भने।

 

विपद्का समयमा मात्र नभई अन्य समयमा पनि मर्चरी हाउस प्रयोग गर्न सकिने बताउँदै गुरुङले आवश्यकताअनुसार थप सुधार गर्नुपर्ने भए महासंघले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए। उनले विपद्का समयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै मर्चरी हाउसको उचित प्रयोग र संरक्षण गर्न प्रतिष्ठानलाई आग्रह गरे।

 

जिल्ला प्रशासन कार्यालय कास्कीबाट करिब तीन लाख रुपैयाँ मूल्य पर्ने कन्टेनर उपलब्ध भएपछि त्यसलाई आवश्यक मर्मत तथा निर्माण गरी करिब नौ लाख ६५ हजार रुपैयाँको लागतमा मर्चरी हाउस निर्माण सम्पन्न गरिएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेलले बताए। उनका अनुसार मर्चरी हाउसलाई आवश्यकताअनुसार प्रदेशका विभिन्न स्थानमा लैजान सकिने व्यवस्था गरिएको छ।

 

मर्चरी हाउस निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा कार्यकारिणी सदस्यहरूबाट दुई लाख ४९ हजार दुई सय ९५ रुपैयाँ, पर्वत उद्योग वाणिज्य संघबाट ५१ हजार रुपैयाँ, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघबाट ५१ हजार रुपैयाँ, नागरिक परोपकार समन्वय संस्था कास्कीबाट ५१ हजार रुपैयाँ, अन्तर्राष्ट्रिय नेपाल युवा उद्यमी महासंघ गण्डकी प्रदेशबाट ५० हजार रुपैयाँ, एनवाईईएफ पोखराबाट दुई लाख रुपैयाँ, होटलियर्स क्लब पोखराबाट एक लाख एक हजार एक सय ११ रुपैयाँ र सामुदायिक प्रहरी सेवा केन्द्रहरूबाट दुई लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्राप्त भएको भुजेलले बताए।

 

नेपालमा प्रविधि तथा पूर्वाधारका हिसाबले अझै चुनौती रहेको अवस्थामा विश्वमा प्रयोग भइरहेका डिजिटल मर्चरी, पोस्टमार्टम तथा फरेन्सिक प्रविधिको प्रयोगमार्फत शव पहिचान र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सकिने महासंघले जनाएको छ।

 

शव पहिचानका लागि पोस्टमार्टमसम्बन्धी तथ्यांक संकलन, आफन्तबाट विवरण लिने तथा प्राप्त विवरणको तथ्य जाँच गर्ने कार्य महत्वपूर्ण हुने भुजेलले बताए।

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत फरेन्सिक विभागका प्रमुख डा. मदन बरालले नयाँ शव भण्डारण कक्षले लामो समयसम्म शव सुरक्षित राख्न सहयोग पुग्ने बताए। पुरानो संरचनालाई आवश्यक निर्माण तथा सुधार गरी नयाँ स्वरूपमा तयार पारिएको उनले जानकारी दिए।

 

माइनस शून्य डिग्री सेल्सियस तापक्रममा शव भण्डारण गर्न सकिने उक्त कक्षमा लामो समयसम्म शव सुरक्षित राख्न सकिने उनले बताए। शवलाई गल्ने अवस्थामा पुग्न नदिनका लागि यो संरचना उपयोगी हुने भन्दै डा. बरालले लामो समयसम्म राख्नुपर्ने शवहरू यसमा राख्न सकिने जानकारी दिए।

 

नयाँ शव भण्डारण कक्षमा एकपटकमा २४ वटा शव राख्न सकिने र महिनौँसम्म सुरक्षित राख्न सकिने व्यवस्था रहेको उनले बताए। हाल अस्पतालमा पोस्टमार्टमका लागि ७२ वटा शव राख्न सकिने व्यवस्था रहेको र चारवटा शव कोल्डरुममा रहेको डा. बरालले जानकारी दिए। बेवारिसे अवस्थामा रहेका तथा लामो समयसम्म राख्नुपर्ने शवलाई नयाँ शव भण्डारण कक्षमा राखिने उनले बताए।

 

तिब्बत–भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण उत्पन्न विपद्मा मृत्यु भएका व्यक्तिको शव पहिचान, सुरक्षित संरक्षण तथा अन्तिम संस्कारका लागि आवश्यक व्यवस्थापनमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले सहकार्य थालेको जनाएको छ।

 

प्राकृतिक विपद्, दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शवलाई जात, धर्म वा राष्ट्रियताका आधारमा भेदभाव नगरी सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्ने मान्यताका साथ महासंघले सहयोग गरेको जनाएको छ।

 

गण्डकी प्रदेशको राजधानी पोखरा तथा आसपासका क्षेत्रमा विगतमा पनि ठूला दुर्घटना तथा विपद्का घटना हुँदै आएका छन्। भौगोलिक अवस्थाका कारण गण्डकी प्रदेशसँगै मुलुकका विभिन्न स्थानबाट शव व्यवस्थापनको जिम्मेवारी पोखरामा आइपर्ने भएकाले दीर्घकालीन रूपमा यस्तो पूर्वाधार आवश्यक रहेको महासंघले जनाएको छ।

 

महासंघले विपद्का समयमा शव व्यवस्थापनजस्तो संवेदनशील कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने नेपाल सरकारका निकाय, गण्डकी प्रदेश सरकार, प्रदेश प्रहरी कार्यालय, विपद् व्यवस्थापन इकाइ, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीलगायत सरोकारवाला निकायप्रति आभार व्यक्त गरेको छ।

 

मानवीय संवेदना र मृतकप्रतिको सम्मानलाई केन्द्रमा राख्दै शव पहिचान, संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण र सहयोगलाई निरन्तरता दिने महासंघले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...