पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी प्रदेश सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार राति सुरु भएको मतदानपछि शनिबार बिहान सम्पन्न मतगणनाबाट त्रिपाठी अत्यधिक मतसहित विजयी भएका हुन्।

सभापतिका आकांक्षीबीच सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास दिनभर चले पनि सहमति जुट्न नसकेपछि राति करिब ११ बजेदेखि मतदान प्रक्रिया सुरु गरिएको थियो। सभापति पदका लागि निवर्तमान सभापति राजन गौतम, महासचिव नवीन त्रिपाठी, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की चुनावी मैदानमा उत्रिएका थिए।
मतगणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले २३४ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी राजन गौतमले १८२ मत पाए भने माधवप्रसाद कँडेलले ११ र हरिबहादुर कार्कीले २ मत प्राप्त गरेका थिए।
रास्वपाको विधानअनुसार सभापतिमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था छ। अधिकांश प्रतिनिधिले दोस्रो चरणको मतदान हुने अनुमान गरेका भए पनि त्रिपाठीले पहिलो चरणमै आवश्यक मत कटाएर प्रदेश सभापतिमा निर्वाचित हुन सफल भएका छन्।
गण्डकी प्रदेशमा पार्टी संगठन विस्तार, वैकल्पिक राजनीतिक अभियानलाई थप सशक्त बनाउने तथा आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै नयाँ नेतृत्व चयन भएको रास्वपाका नेताहरूले बताएका छन्। नवीन त्रिपाठीको विजयसँगै गण्डकी प्रदेशमा रास्वपाको नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हाल्ने भएको छ।