पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–१४ नयाँ एयरपोर्ट क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३ गते दिउँसो करिब ४ बजे जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ९१ हजार ५ सय ३५ रुपैयाँ तथा १ हजार ८३ पत्ती तास बरामद गरेको जनाएको छ।
घटनामा संलग्न ९ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। जुवा खेल्ने तथा खेलाउनेविरुद्ध प्रहरीले नियमित निगरानी र कारबाही जारी राखेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले उक्त जानकारी दिएका हुन्।