सासूमाथि चक्कु प्रहार गर्ने ज्वाइँ पक्राउ

पोखरा । लेनदेनको विषयमा भएको विवादका क्रममा सासूमाथि चक्कु प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३ गते दिउँसो ४:११ बजे पोखरा महानगरपालिका–१७ राममन्दिर नजिक पोखरा–२८ माझठाना घर भई हाल बिरौटामा बस्दै आएकी ४७ वर्षीया मुना तिवारीमाथि चक्कु प्रहार भएको थियो।

प्रहरीका अनुसार लेनदेनको विषयमा विवाद हुँदा उनका आफ्नै ज्वाइँ, लमजुङको मध्यनेपाल नगरपालिका–२ घर भएका ४३ वर्षीय ध्रुवराज अधिकारीले चक्कु प्रहार गरेका थिए।

 

घटनालगत्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घाइते तिवारीलाई उपचारका लागि नोबेल अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको पेट, ढाड र छातीमा चोट लागेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको र उपचार जारी रहेको बताइएको छ।

 

प्रहरीले घटनामा संलग्न ध्रुवराज अधिकारीलाई प्रयोग गरिएको चक्कुसहित पक्राउ गरेको छ। कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...