पाेखरा महानगरकाे नीति कार्यक्रम, सीसीटीभी क्यामरा जडानसम्बन्धी जनचेतना अभिवृद्धि

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ काे लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । १९ औ नगर सभामा मेयर धनराज आचार्यले नीति कार्यक्रम प्रस्तुत गरे । उनले प्रस्तुत गरेकाे नीति कार्यक्रममा विशेष अभियान तथा प्राेत्साहन कार्यक्रम ३३ बुदाँमा राेचक र रमाइला तर बजेट खर्च गर्ने बाहेक उपलब्धि बिहिन रहेका छन ।

सभ्य समाज निर्माण, सुरक्षित शहरको विकास, पर्यटन प्रवर्द्धन तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न नयाँ अभियान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

 

महानगरले सार्वजनिक व्यवहार, सामाजिक सञ्जाल र सेवा प्रवाहमा मर्यादित भाषाको प्रयोगलाई प्रोत्साहन गर्न ‘पोखरा बोल्छ, सभ्य भाषा प्रयोग गरौं’ अभियान सञ्चालन गर्ने जनाएको छ। सामाजिक सद्भाव र सकारात्मक संवाद संस्कृतिको विकासमा विशेष जोड दिइने बताइएको छ।

 

त्यसैगरी ‘उज्यालो र सुरक्षित पोखरा’ अभियानमार्फत घर, पसल तथा संस्थाहरूले बाहिरी बत्ती नियमित रूपमा बाल्ने व्यवस्थालाई प्रोत्साहन गरिनेछ। समुदाय–प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउँदै सुरक्षित शहर निर्माणमा जोड दिइने महानगरले जनाएको छ।

 

पर्यटन प्रवर्द्धनका लागि ‘पोखराको फोटो, विश्वभर प्रचार’ अभियान सञ्चालन गरिनेछ। नागरिक तथा पर्यटकलाई सामाजिक सञ्जालमार्फत पोखराका सकारात्मक पक्षहरू प्रचार गर्न प्रेरित गरिनेछ भने #VisitPokhara, #TourismCapital, #GreenPokhara र #CleanPokhara जस्ता साझा ह्यासट्याग प्रयोगलाई बढावा दिइनेछ।

 

पर्यटकमैत्री वातावरण निर्माण गर्न ‘अतिथि देवो भवः’ अभियान सञ्चालन गरिनेछ। होटल, रेष्टुरेन्ट, यातायात व्यवसायी तथा स्थानीय बासिन्दामाझ आतिथ्य संस्कृतिको विकासमा जोड दिइनेछ।

 

महानगरले ‘१० मिनेट नागरिक योगदान’ अभियानमार्फत प्रत्येक नागरिकलाई दैनिक कम्तीमा १० मिनेट आफ्नो टोल, पार्क वा सार्वजनिक स्थल सफा राख्न प्रोत्साहित गर्ने भएको छ। साथै ‘मेरो कुकुर, मेरो जिम्मेवारी’ अभियानअन्तर्गत घरपालुवा कुकुरको अनिवार्य दर्ता, नवीकरण, बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिनेछ।

 

शिक्षा क्षेत्रतर्फ ‘ग्रीन शिक्षक तथा विद्यालय विकास अभियान’ सञ्चालन गरी सबै विद्यालयमा ‘आर यू एण्ड ग्रीन क्लब’ गठन गरिनेछ। विद्यालय तहमा मनोसामाजिक परामर्श, खेलकुद तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमलाई अभियानका रूपमा अघि बढाइनेछ।

 

महानगरका प्रमुख प्रवेशद्वारहरूमा धार्मिक पर्यटकको सुविधाका लागि रिफ्रेसमेन्ट सेन्टर, भान्छाघर तथा सार्वजनिक शौचालय निर्माण गरिनेछ। साथै ‘एक वडा–एक सार्वजनिक शौचालय’ अभियानमार्फत प्रत्येक वडामा आधुनिक तथा अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गरिने योजना रहेको छ।

 

सडक सुरक्षा प्रवर्द्धन गर्न ‘सुरक्षित शहर अभियान’ अन्तर्गत सीसीटीभी क्यामरा जडानसम्बन्धी जनचेतना अभिवृद्धि गरिनेछ। घर तथा व्यवसायिक प्रतिष्ठानलाई सडकतर्फ कम्तीमा एक क्यामराको दृश्य देखिने गरी सीसीटीभी जडान गर्न प्रोत्साहित गरिनेछ

हरियाली प्रवर्द्धनका लागि ‘सुन्दर घर, हरित घर’ अभियान सञ्चालन गरिनेछ। उत्कृष्ट घर, बगैँचा वा गमला व्यवस्थापन गर्ने ३३ जना नागरिकलाई महानगर स्थापना दिवसका अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।

 

महानगरले उत्कृष्ट कार्य गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। ‘सफा टोल प्रोत्साहन कार्यक्रम’, महिला सशक्तीकरण तथा आमा समूह सम्मान कार्यक्रम, उत्कृष्ट सहकारी सम्मान कार्यक्रम, ‘वर्ष कृषक’, ‘वर्ष शिक्षक/शिक्षिका’ र ‘वर्ष उद्यमी’ सम्मान तथा ‘पर्यटन उत्कृष्टता पुरस्कार’ मार्फत विभिन्न क्षेत्रका उत्कृष्ट योगदानकर्तालाई नगद पुरस्कारसहित सम्मान गरिनेछ।

 

महानगरपालिकाले यी कार्यक्रममार्फत नागरिक उत्तरदायित्व, सुशासन, सरसफाइ, हरियाली तथा पर्यटन प्रवर्द्धनलाई संस्थागत गर्दै पोखरालाई अझ व्यवस्थित, सुरक्षित र आकर्षक शहरका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...