पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड २५ लाख

पोखरा, असार ५ – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्दै विकास निर्माण, सेवा प्रवाह, पर्यटन प्रवर्द्धन, कृषि, पूर्वाधार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राखिएको बताइन्।

प्रस्तावित बजेट कार्यान्वयनका लागि संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणतर्फ शसर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख तथा समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ गरी कुल ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

 

त्यसैगरी गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख र समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार रुपैयाँ गरी कुल ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ।

 

महानगरले संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ ३४ करोड ३४ लाख ७३ हजार, प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार, स्थानीय सरकारतर्फ १ अर्ब ३१ लाख १४ हजार तथा आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ। यसअनुसार कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहने अनुमान छ।

 

कुल बजेटमध्ये ५५.१ प्रतिशत अर्थात् ३ अर्ब ९४ करोडभन्दा बढी रकम चालु खर्चतर्फ तथा ४४.९ प्रतिशत अर्थात् करिब ३ अर्ब २१ करोड रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

 

उपप्रमुख गुरुङले नगरसभामा आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ समेत पेश गर्दै बजेट तथा कार्यक्रम निर्माण प्रक्रियामा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र तथा नगरवासीप्रति धन्यवाद व्यक्त गरिन्।

 

उनले प्रस्तुत बजेटको सफल कार्यान्वयनका लागि सबै पक्षको सक्रिय सहभागिता, समन्वय र सहयोग आवश्यक रहेको उल्लेख गर्दै ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माण गर्ने साझा लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरिन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...