पोखरा २० मा निःशुल्क नाक, कान तथा घाँटी स्वास्थ्य शिविर

पोखरा, असार । पोखरा महानगरपालिका वडा नं. २० को आयोजना, मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा भलाम स्वास्थ्य चौकीको समन्वयमा शनिबार निःशुल्क नाक, कान तथा घाँटी (ईएनटी) स्वास्थ्य शिविर सम्पन्न भएको छ।


वडा अध्यक्ष गङ्गा बहादुर खत्रीको अध्यक्षतामा आयोजित शिविरमा मणिपाल शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।

 

 

शिविरमा नाक, कान तथा घाँटीसम्बन्धी समस्याको परीक्षणसँगै आवश्यक सामान्य औषधिसमेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।

 

शिविरमा सहभागी सेवाग्राहीहरूलाई मणिपाल शिक्षण अस्पतालमा थप उपचार तथा परीक्षण आवश्यक परेमा बहिरङ्ग (ओपीडी) दर्ता शुल्कमा ५० प्रतिशत छुट तथा अन्य विशेष परीक्षणमा २५ र १५ प्रतिशतसम्म छुट प्रदान गरिने जानकारी चिकित्सक टोलीले दिएको थियो।

 

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने वडा सचिव रामप्रसाद तिवारी, भलाम स्वास्थ्य चौकी प्रमुख बिलासचन्द्र पौडेल, डा. सुजन गौतम, डा. दिपेन रानाभाटसहित प्राविधिक टोली, स्वास्थ्य स्वयंसेविका तथा अन्य सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

 

स्थानीय बासिन्दालाई विशेषज्ञ स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...