चोरी तथा डाँका सम्बन्धी कसुरमा २ जना पक्राउ, लाखौंका गरगहना बरामद

पोखरा, असार ७ – जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका–१५ मा रहेको एक घरबाट सुनका गरगहना र नगद चोरी भएको उजुरीपछि अनुसन्धान सुरु गरिएको थियो। घरमा बालिका मात्र रहेको अवस्थामा “ढ्याल ढोका बनाउन आएको” भन्दै प्रवेश गरी ढोकाको दराज तोडफोड गरेर विभिन्न सुनका गरगहना तथा नगद २३ हजार रुपैयाँ चोरी भएको सूचनाका आधारमा प्रहरीले खोजी अभियान चलाएको थियो।

 

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ शिवनगर बस्ने ३५ वर्षीय भुवनबहादुर साह शङ्करलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

प्रहरीले उनको कोठाबाट चोरी भएका सुनचाँदीका गरगहना बरामद गरेको छ। थप अनुसन्धानका क्रममा चोरी गरिएका सुनका गरगहना करिब ६ लाख ५० हजार रुपैयाँमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ घर भई हाल काठमाडौं–७ मूलपानी बस्ने ३५ वर्षीय विराज सुनारलाई बिक्री गरेको खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

बरामद गरिएका सामग्रीमा सुनजस्ता देखिने तिलहरी, चन्द्रमा, झुम्का, औँठी, मुन्द्रा, चाँदीजस्ता देखिने बाला, सिक्का र सिक्री तथा नगद २१ हजार ५०० रुपैयाँ रहेका छन्। घटनाका समयमा प्रतिवादीले लगाएको ज्याकेट र पाइन्ट समेत बरामद गरिएको छ।
दुवै प्रतिवादीविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...