पोखरा, असार १५ — गण्डकी प्रदेशमा एचआईभी (एचआईभी/एड्स) नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको देखिएको छ। प्रदेशमा उपचारमा रहेका १ हजार ६३८ जना संक्रमितमध्ये भाइरल लोड परीक्षण गराएका १ हजार ४६० जनामध्ये १ हजार ४२५ जनाको भाइरल लोड नियन्त्रण (Viral Suppression) मा रहेको तथ्य सार्वजनिक भएको छ। यो परीक्षण गराएकामध्ये करिब ९८ प्रतिशत सफलता दर हो।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा, प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश र एएचएफ नेपालको संयुक्त आयोजनामा सम्पन्न पत्रकार अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा हाल ११ वटा एचटीसी (एचआईभी परीक्षण तथा परामर्श) केन्द्र, ११ वटा एआरटी (उपचार) केन्द्र र ४ वटा एआरभी औषधि वितरण केन्द्र सञ्चालनमा छन्। यी केन्द्रमार्फत परीक्षण, परामर्श, नियमित उपचार तथा निःशुल्क औषधि वितरण सेवा उपलब्ध हुँदै आएको छ।
प्रादेशिक जनस्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिकृत लक्ष्मण बसौलाले एचआईभी परीक्षण सेवाको पहुँच विस्तारसँगै परीक्षण गराउनेको संख्या वर्षेनी बढ्दै गएको बताए। उनका अनुसार आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ (जेठसम्म) को तुलनात्मक तथ्याङ्कले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी र बागलुङमा परीक्षणको दायरा उल्लेख्य रूपमा विस्तार भएको देखाएको छ।
प्रदेशभर सञ्चालित एचटीसी केन्द्रमार्फत पछिल्ला तीन वर्षमा १ लाख ३० हजार ४९ जना गर्भवती महिलाको एचआईभी परीक्षण गरिएको छ। यो परीक्षण आमाबाट शिशुमा संक्रमण रोक्न सञ्चालन गरिएको पीएमटीसीटी (Prevention of Mother to Child Transmission) कार्यक्रमअन्तर्गत गरिएको हो।
कार्यक्रममा प्रस्तुत विवरणअनुसार उपचारमा रहेका १ हजार ६३८ संक्रमितमध्ये ८६८ पुरुष, ७६५ महिला र ५ जना तेस्रो लिंगी छन्। उमेर समूहका आधारमा ०–१४ वर्षका ३१ जना र १५ वर्षमाथिका १ हजार ६०७ जना नियमित एआरटी सेवामा आबद्ध छन्।
फिजिसियन डा. राजेन्द्र पौडेलले समयमै परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय निगरानीका कारण एचआईभी संक्रमितले सामान्य र स्वस्थ जीवन बिताउन सक्ने बताए। उनले संक्रमण लुकाउनेभन्दा परीक्षण गराई उपचारमा आउन आग्रह गर्दै समाजमा अझै कायम रहेको भ्रम र विभेद हटाउन आवश्यक रहेको उल्लेख गरे।
एएचएफ नेपालकी श्रीमाया सिग्देलले संस्थाले परीक्षण, परामर्श, उपचार सहयोग, समुदायस्तरको जनचेतना र संक्रमितको जीवनस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्।
एएचएफ नेपालका कन्ट्री डाइरेक्टर दिव्यराज जोशीले सन् २०३० सम्म एचआईभी महामारी अन्त्य गर्ने लक्ष्य हासिल गर्न सरकार, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र समुदायबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्ने बताए।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अर्जुन क्षेत्रीले महानगरले जोखिम समूहसम्म परीक्षण सेवा विस्तार, जनचेतना अभिवृद्धि तथा संक्रमितलाई उपचारमा पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
पत्रकार श्याम कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एचआईभी संक्रमितप्रति हुने लाञ्छना र विभेद अन्त्य गर्न तथ्यमा आधारित समाचार सम्प्रेषण तथा जनचेतनामूलक सामग्री प्रकाशनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहनेमा जोड दिइएको थियो।