सामुदायिकमा विद्यार्थी घट्दै, प्राविधिक शिक्षामा पनि आकर्षण कम

एकराज गिरी/पोखरा, असार १८ – नेपालमा विद्यालय उमेर समूहका बालबालिकाको संख्या घट्दै जाँदा विद्यालयमा विद्यार्थी भर्ना पनि निरन्तर ओरालो लागेको छ। यसले विशेषगरी सामुदायिक विद्यालय र प्राविधिक शिक्षालाई चुनौती थपेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले शिक्षा विकास तथा समन्वय इकाइ कास्कीमा आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रका निर्देशक निमप्रकाश सिंह ले सार्वजनिक गरेको शैक्षिक तथ्याङ्कले विद्यार्थी संख्या घट्दो अवस्थामा रहेको देखाएको हो।

 

निर्देशक सिंहका अनुसार कक्षा १ मा वार्षिक करिब ९ लाख विद्यार्थी भर्ना भए पनि कक्षा १० पुग्दासम्म त्यो संख्या करिब ३ लाखमा सीमित हुने अवस्था देखिएको छ। जनसंख्या वृद्धिदरमा आएको कमी, बसाइँसराइ र जन्मदर घट्दै गएकाले आगामी वर्षहरूमा पनि विद्यार्थी संख्या बढ्ने सम्भावना नरहेको उनले बताए।

 

उनले सरकारको प्राथमिकतामा रहेको प्राविधिक धारको शिक्षामा समेत अपेक्षाअनुसार विद्यार्थी आकर्षित हुन नसकेको बताए। देशभर सञ्चालनमा रहेका करिब ५६९ प्राविधिक धारका विद्यालयमध्ये करिब एक सय विद्यालय विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका उनले जानकारी दिए। बजेटको अभाव नभई विद्यार्थी अभाव नै मुख्य समस्या बनेको उनको भनाइ थियो।

विद्यालय र विद्यार्थीको अवस्था

केन्द्रका अनुसार नेपालभर ४२ हजार ६१९ वटा ईसीईडी केन्द्र तथा ३५ हजार ९५१ विद्यालय सञ्चालनमा छन्। तीमध्ये २७ हजार १० सामुदायिक, ८ हजार ९४१ संस्थागत (निजी) र १ हजार ३८७ धार्मिक विद्यालय रहेका छन्।

 

देशभर ईसीईडीदेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थी संख्या करिब १ करोड २२ लाख पुगेको तथ्याङ्कमा उल्लेख छ। आधारभूत तह (कक्षा १–८) मा ५३ लाख ७४ हजार २७२, कक्षा ९–१२ मा १६ लाख ६६ हजार ५ सय ५३ र कक्षा ११–१२ मा ६ लाख ९८ हजार १२३ विद्यार्थी अध्ययनरत छन्।

 

शिक्षक पर्याप्त, विद्यार्थी घट्दै

 

तथ्याङ्कअनुसार सामुदायिक विद्यालयमा करिब १ लाख ५ हजार १२२ शिक्षक कार्यरत छन् भने संस्थागत विद्यालयमा ४० हजार ६३१ शिक्षक छन्। आधारभूत तह (१–८) मा कुल २ लाख ५ हजार ४०५ शिक्षक कार्यरत रहेको केन्द्रले जनाएको छ।

 

विद्यार्थी–शिक्षक अनुपात हेर्दा आधारभूत तह (१–५) मा औसत २४ विद्यार्थी बराबर एक शिक्षक, आधारभूत (१–८) मा २६ विद्यार्थी बराबर एक शिक्षक तथा माध्यमिक तह (९–१२) मा २५ विद्यार्थी बराबर एक शिक्षक रहेको तथ्याङ्कले देखाएको छ। यसले शिक्षकको तुलनामा विद्यार्थी संख्या घट्दै गएको संकेत गर्ने निर्देशक सिंहको भनाइ थियो।

 

ईसीईडी अनुभव बढ्दै

 

यसैबीच कक्षा १ मा नयाँ भर्ना भएका विद्यार्थीमध्ये ७७.५१ प्रतिशत ले ईसीईडी (बालविकास) अनुभव प्राप्त गरेको केन्द्रले जनाएको छ। देशभर कक्षा १ मा नयाँ भर्ना भएका ७ लाख ६५ हजार ९२१ विद्यार्थीमध्ये ५ लाख ९३ हजार ६४१ ले ईसीईडी अनुभव हासिल गरेका छन्।

तथ्यमा आधारित समाचार आवश्यक : बराल

कार्यक्रमको अध्यक्षता गरेका शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका निमित्त इकाइ प्रमुख टंकराज बराल ले शिक्षा क्षेत्रका तथ्य र वास्तविक अवस्थालाई नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताए।

 

 

उनले शिक्षा क्षेत्रका नीति, चुनौती र सुधारका प्रयासबारे तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरे।

 

कार्यक्रममा कास्कीका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो। पत्रकार भेटघाटमा केन्द्रले विद्यालय, विद्यार्थी, शिक्षक, विद्यार्थी–शिक्षक अनुपात, प्राविधिक धारका विद्यालय तथा ईसीईडीसम्बन्धी राष्ट्रिय शैक्षिक तथ्याङ्क सार्वजनिक गरेको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...