पोखरा, २० असार । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजना तथा श्वेता युनिसेक्स सलुन एण्ड एकेडेमी प्रा.लिको सहकार्यमा सञ्चालन गरिएको १५ दिने निःशुल्क जेन्स–लेडिज हेयर कटिङ तथा ब्युटिसियनसम्बन्धी सीपमूलक तालिम सम्पन्न भएको छ।
स्थानीय महिला तथा युवाहरूलाई व्यावसायिक सीप प्रदान गरी स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा १७ जना प्रशिक्षार्थी सहभागी भएका थिए भने तीन जना प्रशिक्षकले सहजीकरण गरेका थिए। तालिमका क्रममा सहभागीहरूलाई जेन्स तथा लेडिज हेयर कटिङ, ब्युटिसियनसम्बन्धी आधारभूत तथा प्रयोगात्मक सीप प्रदान गरिएको आयोजकले जनाएको छ।

वडा कार्यालयमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि पाेखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले यस्ता सीपमूलक तालिमले स्थानीय महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउनुका साथै उद्यमशीलता विकास र स्वरोजगारका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले व्यावसायिक सीपलाई आम्दानीसँग जोडेर बेरोजगारी न्यूनीकरणमा समेत यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
कार्यक्रममा वडा सचिव राजेन्द्र पौडेल, कार्यक्रम संयोजक तथा वडा सदस्य सुनिता जिसी सुनार, पोखरा महानगरपालिका वडा नं. ३ का वडा सदस्य सबी परियार, नेपाल गृहश्रमिकका अध्यक्ष माया लामिछाने, प्रशिक्षक श्रेना तथा श्वेता युनिसेक्स सलुन एण्ड एकेडेमी प्रा.लिकी प्रोप्राइटर शर्मिला रानाभाट लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले स्थानीयस्तरमै सीप विकासका कार्यक्रम सञ्चालन गरिँदा रोजगारीका अवसर विस्तार हुनुका साथै आर्थिक सशक्तीकरणमा समेत सकारात्मक प्रभाव पर्ने धारणा राखेका थिए।
आयोजकका अनुसार तालिम पूरा गरेका सहभागीहरूले व्यावसायिक रूपमा ब्युटी तथा हेयर ड्रेसिङ सेवा सञ्चालन गर्न आवश्यक आधारभूत ज्ञान र व्यवहारिक सीप हासिल गरेका छन्। वडा कार्यालयले आगामी दिनमा पनि स्थानीय नागरिकको क्षमता अभिवृद्धि, उद्यमशीलता विकास तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यका यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।