पोखरा, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले संघको आगामी ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

संघको कार्यसमिति बैठकले भदौ २० र २१ गते ३६औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेसँगै गौतमले उद्योगी–व्यवसायीहरूलाई सम्बोधन गर्दै औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन्।
उम्मेदवारी घोषणासँगै जारी गरेको सन्देशमा उनले आफ्नो संस्थागत यात्रा विभिन्न उपसमितिहरूबाट सुरु हुँदै कार्यसमिति सदस्य, उपमहासचिव र संघको पहिलो महिला महासचिवसम्म पुगेको उल्लेख गरेकी छन्। यो यात्रा उद्योगी–व्यवसायीहरूले दिएको विश्वास, साथ र हौसलाको प्रतिफल भएको भन्दै उनले सम्पूर्ण व्यवसायीप्रति कृतज्ञता व्यक्त गरेकी छन्।
गौतमले आफूले सधैं “पदभन्दा काम ठूलो हुन्छ” भन्ने मूल मन्त्रका साथ संस्था र व्यवसायीको हितमा इमान्दारी, निष्ठा र समर्पणका साथ काम गरेको उल्लेख गर्दै नेतृत्वको वास्तविक परिचय पदले नभई कामले दिने विश्वास व्यक्त गरेकी छन्।
उनले पोखरा उद्योग वाणिज्य संघको इतिहासमा हालसम्म कुनै महिलाले अध्यक्ष बन्ने अवसर नपाएको उल्लेख गर्दै आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा पनि अनुभव, क्षमता, समावेशी नेतृत्व र सकारात्मक परिवर्तनप्रतिको सामूहिक अभियान भएको बताएकी छन्।
गौतमले अध्यक्षका रूपमा संघलाई अझ सशक्त, समावेशी, व्यवसायीमैत्री र भविष्यमुखी संस्थाका रूपमा विकास गर्न प्रतिबद्ध रहेको जनाउँदै अनुभव, पारदर्शिता, उत्तरदायित्व, सुशासन र सबैलाई साथ लिएर अघि बढ्ने कार्यशैलीलाई प्राथमिकता दिने बताएकी छन्।
उनले केही समयपछि सक्षम, समावेशी र प्रतिबद्ध टोलीसहित औपचारिक रूपमा सार्वजनिक हुँदै साझा दृष्टिकोण, प्राथमिकता र आगामी कार्ययोजना प्रस्तुत गर्ने जानकारी पनि दिएकी छन्।
उद्योगी–व्यवसायीहरूसँग निरन्तर साथ, विश्वास, सल्लाह र शुभेच्छाको अपेक्षा व्यक्त गर्दै गौतमले आफ्नो सन्देशको अन्त्य “विश्वास तपाईंहरूको, जिम्मेवारी मेरो” भन्ने नारासहित गरेकी छन्।