पोखरा, असार २९ । जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) रातिदेखि देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार कोशी र बागमती प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। साथै गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थान, कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
मनसुन सक्रिय रहेकाले भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता विपद्को जोखिम बढ्न सक्ने विभागले जनाएको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यसअघि नै कास्कीको मादी गाउँपालिका लगायत विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेकाले नदी–खोला आसपास, पहिरोको जोखिम भएका बस्ती तथा सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले पनि आग्रह गरेको छ।