पोखरा । कास्कीको रुपा गाउँपालिका–७ मा लगातारको भारी वर्षाका कारण एक घर पूर्ण रूपमा भत्किएको छ।

रुपा गाउँपालिका–७ निवासी पूर्णबहादुर भुजेलको घर आइतबार बिहान भत्किँदा पूर्ण रूपमा क्षति भएको हो। बिहान गोठमा काम गर्न गएका बेला घर भत्किएकाले मानवीय क्षति हुनबाट जोगिएको छ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घर भत्किँदा परिवारका सदस्यहरू घरभित्र नरहेकाले कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए।
अध्यक्ष ओझाले पीडित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन गाउँपालिका समन्वयमा रहेको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए। लगातार वर्षा भइरहेकाले पहिरो र घर भत्किने जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन्।