पोखरा, साउन १२ । पोखरा महानगरपालिका–६, बेँदामस्थित फ्रेश जुस सेन्टरलाई उपभोक्ता हितविपरीत गतिविधि गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपभोक्ताबाट गुनासो प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले जुस सेन्टरमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा पसलमा पर्याप्त सरसफाइ नभएको, व्यवसायसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन नसकेको तथा जुस बनाउन प्रयोग गरिने निम्बु, कागती, केरालगायत फलफूल करिब १२ किलोग्राम (बजार मूल्य करिब रु. ३,४७०) सडेगलेको अवस्थामा फेला परेपछि नष्ट गरिएको प्रशासनले जनाएको छ।उक्त कसुरका आधारमा फ्रेश जुस सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।
साथै प्रशासनले जुस बनाउने सामग्रीको नियमित सरसफाइ गर्न, व्यवसाय तथा नापतौलसम्बन्धी इजाजतपत्र नवीकरण गर्न, आवश्यक कागजात अद्यावधिक राख्न, प्रयोग गरिने फलफूल छुट्टै र सुरक्षित रूपमा भण्डारण गर्न, अखाद्य रङ वा फ्लेभर प्रयोग नगर्न तथा ग्राहकलाई अनिवार्य रूपमा बिल उपलब्ध गराउन निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइने जनाउँदै उपभोक्ता हितविपरीत गतिविधिमा संलग्न व्यवसायीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।