देवानगञ्ज र सिरहाको घटनाप्रति एमाले अध्यक्ष ओलीको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा केही दिनयता उत्पन्न तनावपूर्ण अवस्था, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहतासहित सिरहाका गणेश यादवको गोली लागेर मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।


ओलीले बिहीबार जारी गरेको वक्तव्यमा देवानगञ्जको घटनाक्रमसँगै सिरहा लगायत विभिन्न स्थानमा गोली लागी थप नागरिकको ज्यान गएको खबरले आफू अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

 

अध्यक्ष ओलीले वर्तमान जटिल र संवेदनशील परिस्थितिमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालालाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। उनले भ्रामक प्रचारको पछि नलाग्न तथा समाजमा एकता र भ्रातृत्व कायम राख्न सबैलाई सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेका छन्।

 

वक्तव्यमा सरकारले नागरिकको जीउधनको सुरक्षा गर्नुका साथै संवादमार्फत समस्याको समाधान खोज्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद तथा भर्त्सनायोग्य रहेको टिप्पणी गरिएको छ। हिंसात्मक गतिविधि तत्काल रोक्दै अविलम्ब संवादमार्फत समाधान खोज्न उनले सरकारसँग आग्रह गरेका छन्।

 

त्यस्तै, मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आपसी आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

 

ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नरहेको उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्र मुलुकलाई निकास दिन सकिने बताएका छन्। राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भाव जोगाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक समुदायका अगुवालाई राष्ट्रिय हितका लागि एकजुट हुन पनि उनले आह्वान गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...