लायन्स क्लब अफ पोखरा बाराही टाउनको तीनदिने हस्तकला तालिम सम्पन्न

पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनको आयोजनामा सञ्चालित तीनदिने हस्तकला तालिम शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ आईका डिस्ट्रिक्ट चिफ एडभाइजर लायन ऋषि गिरीको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो।

कार्यक्रममा डिस्ट्रिक्ट असिस्टेन्ट चिफ एडभाइजर लायन शान्ता थापा, डिस्ट्रिक्ट असिस्टेन्ट चिफ एडभाइजर लायन सूर्यनारायण बराल, डिस्ट्रिक्ट एड्मिनिस्ट्रेटर लायन युवराज खनाल, डिस्ट्रिक्ट कोअर्डिनेटर (भोकेशनल ट्रेनिङ) चिफ लायन सोनी तामाङ, शिमल टुडा टोल विकास संस्थाका अध्यक्ष भक्तराज रसाइली तथा पुण्यभूमि आमा समूहकी अध्यक्ष मिना सापकोटालगायतको उपस्थिति रहेको थियो।

 

क्लबकी संस्थापक अध्यक्ष तथा डिस्ट्रिक्ट एक्जिक्युटिभ लायन रोजी श्रेष्ठका अनुसार तालिममा मकैको खोस्टाबाट बुके फूल, कुशन तथा गुडिया बनाउन सिकाइएको थियो।

 

शिमल टुडा टोल विकास संस्थाका अध्यक्ष भक्तराज रसाइलीले टोल विकासको भवनमा सञ्चालन गरिएको तालिमबाट स्थानीय महिलाले सीप हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न टोल विकास संस्था सहकार्य गर्न तयार रहेको बताए।

 

तालिमका प्रशिक्षक तथा क्लबकी कोषाध्यक्ष लायन सावित्रा पराजुलीले आगामी दिनमा पनि अन्य लायन्स क्लबको आग्रहमा निःशुल्क तालिम सञ्चालन गर्न तयार रहेको बताइन्।

 

क्लबकी अध्यक्ष लायन लक्ष्मी ठकुरी न्यौपानेले शिमल टुडा टोल विकास संस्थासँग सहकार्यलाई निरन्तरता दिँदै यस्ता सीपमूलक तालिममार्फत स्थानीय महिलालाई आत्मनिर्भर र रोजगारीमुखी बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

 

डिस्ट्रिक्ट कोअर्डिनेटर (भोकेशनल ट्रेनिङ) चिफ लायन सोनी तामाङले महिलाहरूले आत्मनिर्भर बन्न सीप र आयआर्जनका अवसरसँग जोडिन आवश्यक रहेको बताइन्।

 

प्रमुख अतिथि लायन ऋषि गिरीले तालिममा निर्माण गरिएका सामग्रीको बजारीकरणमा जोड दिँदै लायन्स क्लब अफ पोखरा बाराही टाउन डिस्ट्रिक्टकै उत्कृष्ट क्लबहरूमध्ये एक रहेको बताए। उनले डिस्ट्रिक्टको मूल नारा “Caring by Sharing” लाई व्यवहारमा उतार्न क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै क्लब अध्यक्ष लायन लक्ष्मी ठकुरी न्यौपानेलाई अन्तर्राष्ट्रिय पिन प्रदान गरी सम्मान गरे।

 

प्रशिक्षार्थीहरूले विगत नौ वर्षपछि शिमल टुडामा यस्तो सीपमूलक तालिम सञ्चालन भएको र यसबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।तीनदिने तालिममा १८ जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबकी सचिव लक्ष्मीदेवी शर्माले गरेकी थिइन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...