पोखरा । पोखरा महानगरपालिका–५ र ८ जोड्ने रेडियो नेपालनजिकको फिर्के पुल गएराति परेको अविरल वर्षाका कारण पूर्ण रूपमा भत्किएको छ। मंगलबार राति करिब ११ बजेदेखि परेको लगातार वर्षापछि पुलको संरचना भत्किएको हो।


पुल भत्किँदा खसेका कंक्रिट, माटो, ढुंगा तथा अन्य संरचनाले फिर्के खोलाको पानीको बहावमा अवरोध सिर्जना गरेको छ। यसले पानी थुनिएर आसपासमा जोखिम बढ्न सक्ने अवस्था देखिएको छ। तत्काल अवरोध नहटाएमा वर्षाको पानीको बहाव बढ्दा थप क्षति हुन सक्ने स्थानीयको भनाइ छ।

फिर्के खोलामा जम्मा भएको माटो, ढुंगा र कंक्रिट पानीसँगै बगेर फेवातालमा पुग्न सक्ने भएकाले त्यसतर्फ पनि जोखिम बढेको छ। पुल नजिकै गण्डकी प्रदेशसभा भवनसमेत रहेकाले उक्त क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

पुल भत्किएपछि पोखरा–५ र ८ का स्थानीय तथा पैदलयात्रीलाई आवतजावतमा थप असहज भएको छ। स्थानीयले खोलाको बहावमा परेको अवरोध तत्काल हटाई जोखिम न्यूनीकरण गर्न तथा पुलको स्थानमा सुरक्षित वैकल्पिक आवागमनको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

पुल लामो समयदेखि जोखिममा रहे पनि समयमै आवश्यक व्यवस्थापन हुन नसकेको भन्दै स्थानीयले अब भने दीर्घकालीन समाधानतर्फ तत्काल पहल गर्नुपर्ने बताएका छन्।
तस्बिर : एकराज गिरी