मुस्ताङ । मनसुन सक्रिय भइरहेका बेला मुस्ताङमा भदौ ३ र ४ गते साँझदेखि बिहानसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना जारी गर्दै भदौ ३ र ४ गते बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन नगर्न तथा नगराउन अनुरोध गरेको हो ।
मनसुन सक्रिय रहेको अवस्थामा मुस्ताङ जिल्ला लगायत आसपासका क्षेत्रमा भारी तथा मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ ।
वर्षाका कारण कालीगण्डकी नदीलगायत अन्य खोलाहरूमा जल सतह बढ्न सक्ने तथा कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डको मुस्ताङ जिल्लाको काभ्रेभीरदेखि जोमसोम र जोमसोमदेखि लोमान्थाङ सडकखण्डमा वर्षाका कारण विभिन्न स्थानमा सुख्खा तथा लेदो पहिरो खस्ने सम्भावना रहेको प्रशासनले जनाएको छ ।
यात्रु तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।
प्रशासनले तोकिएको समयबाहेक अन्य समयमा समेत यात्रा गर्दा उच्च सतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले भदौ ३ गते सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो ।