फेवातालमा निषेधाज्ञा उल्लंघन गर्दै चलाइएका चार सर्फिङ बोट नियन्त्रणमा

पोखरा । फेवातालमा बढ्दो जल–दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले साँझ ६ बजेपछि तालमा जलपर्यटन गतिविधि सञ्चालनमा रोक लगाएको भए पनि उक्त आदेशको अवज्ञा गर्दै चलाइएका चारवटा सर्फिङ बोट नियन्त्रणमा लिइएको छ।

 

शनिबार साँझ करिब ६ः४५ बजे पोखरा महानगरपालिका–६ स्थित फेवातालमा सञ्चालनमा रहेका चारवटा सर्फिङ बोटलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हे.क्वा. कालिका कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले नियन्त्रणमा लिएको हो।

 

सशस्त्र प्रहरी सहायक निरीक्षक सुजितकुमार यादवको कमाण्डमा खटिएको १० जनाको टोलीले बोटमा सवार चार जनालाई समेत नियन्त्रणमा लिएको थियो। उनीहरूमध्ये दुई जना नेपाली पुरुष र दुई जना विदेशी महिला रहेका छन्।

 

नियन्त्रणमा लिइएका व्यक्ति र बोटलाई थप कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी निरीक्षक कमलबहादुर क्षेत्री नेतृत्वको टोलीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा साँझ ६ बजेपछि जलपर्यटन गतिविधि सञ्चालनमा रोक लगाएको अवस्थामा आदेश कार्यान्वयनका लागि सुरक्षा निकायले निगरानी बढाएको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...